कोलकाता तेस्रोपटक आइपिएल च्याम्पियन

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

कोलकाता नाइट राइडर्स तेस्रोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को च्याम्पियन बनेको छ । चेन्नईमा आइतबार भएको १७औँ संस्करणको फाइनलमा सनराइजर्स हैदराबादमाथि आठ विकेटको जित निकाल्दै कोलकाताले उपाधि हात पारेको हो । यसअघि कोलकाताले सन् २०१२ र ०१४ को संस्करण जितेको थियो । तेस्रोपटक च्याम्पियन बन्न कोलकाताले दश वर्ष समय लगायो । 

पहिलो ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो । आइपिएल इतिहासमा फाइनलमा पहिलो ब्याटिङ गरी सबैभन्दा कम योगफल बनाउने टोली हैदराबाद रह्यो । यसअघि सन् २०१७ को फाइनलमा मुम्बई इन्डियन्सले पुणे सुपर जाइन्टविरुद्ध १२९ रनको योगफल बनाएको थियो । 

११४ रन पछ्याएको कोलकाताले १०.३ ओभरमा दुई विकेटको क्षतिमा जित निकाल्यो । कोलकाताको जितमा वेंकेटेश्वर इयरले नटआउट ५२ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । उनले ओपनर रहमानुल्लाह गुर्बाजसँग दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । गुर्बाजले ३२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ३९ रन बनायो । 

फाइनलमा हैदराबाद कमजोर
यस सिजनको आइपिएलमा हैदराबादले ६ खेलमा दुई सयभन्दा माथि योगफल बनाएको थियो । तर, कोलकाताविरुद्धको फाइनलमा हैदराबाद ब्याटिङमा कमजोर देखियो । यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादविरुद्ध कोलकाताका एन्ड्रे रसेलले घातक बलिङ गरेका थिए । उनले २.३ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । मिचेल स्टार्कले तीन ओभरमा १४ रन दिँदै दुई विकेट लिए । हर्षित रानाले एक मेडन राखी २४ रन खर्चेर दुई विकेट हात पारे । कोलकाताका ६ बलरले नै विकेट लिएपछि हैदराबादका ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक लगाउन सकेनन् । इनिङ्सको ०.५ ओभरमै हैदराबादले ओपनर अभिषेक शर्मालाई गुमाएको थियो । इनिङ्सको १.६ ओभरमा अर्का ओपनर टे«भिस हेडले विकेट गुमाए । 

हैदराबादले पहिलो दुई विकेट गुमाउँदा स्कोर बोर्डमा ६ रन मात्र जोडेको थियो । हेड सामना गरेको बलमै रहमानुल्लाहबाट क्याच आउट भए । एडेन माक्रमले २३ बलमा २० रन जोडे । नीतीशकुमार रेडीले १० बलमा १३ तथा हेन्रिक क्लासेनले १७ बलमा १६ रन जोडे । कप्तान प्याट कमिन्सले १९ बलमा २४ रनको योगदान दिए । हैदराबादले १३ अतिरिक्त रन पाएको थियो । बलियो ब्याटिङ रहेको हैदराबादको इनिङ्समा केवल तीन छक्का मात्र प्रहार भयो । 

See More On

सुझावित समाचार