नवलपुरमा पाटेबाघ फेरि मृत भेटिएको छ। नवलपुरको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा पाटेबाघ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थानभन्दा १०–१२ मिटर हिँडेपछि ढलेको स्थानीयले जानकारी दिए।
स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए।
बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेजस्तो चोट रहेको नवलपुर प्रहरीले जनाएको छ।
पोथी प्रजातिको मृत बाघलाई घटनास्थलबाट सबडिभिजन वन कार्यालय दुम्किबास लगिएको र बाघको बिहीबार पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए। नवलपुरमा गएको फागुनयता योसहित तीनवटा दुर्लभ पाटेबाघ मरेका छ्न्।