भ्रष्टाचार आरोपमा मार्चदेखि जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अन्तरिम जमानतमा रिहा भए । मे १० मा अन्तरिम जमानतमा रिहा भएपछि केजरिवालले भोलिपल्ट एक पत्रकार सम्मेलन आयोजना गरी आफूमाथिको आरोप राजनीतिक रूपमा प्रतिशोधपूर्ण रहेको बताउदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘तानासाह’को संज्ञा दिए । त्यस क्रममा उनले एक अप्रत्याशित ‘राजनीतिक ग्रिनेड’ प्रहार गरे । भारतीय जनता पार्टी(भाजपा)ले लगातार तेस्रो पटक बहुमत ल्याए मोदी अर्को वर्ष पार्टीको अनौपचारिक अवकाश उमेर हद ७५ वर्ष पुग्ने र राजीनामा दिने केजरिवालले दाबी गरे । त्यसपछि मोदीको स्थानमा ५९ वर्षीय गृहमन्त्री अमित साह प्रधानमन्त्री हुने उनले बताए ।
साहले तुरुन्तै प्रतिक्रिया दिदैं भाजपाको संविधानमा सेवानिवृत्तिको कुनै नियम नभएको र मोदीले अर्को पूर्ण पाँच वर्षको कार्यकाल सेवा गर्ने बताए । तैपनि, केजरिवालले भाजपाभित्रको एक महत्वपूर्ण प्रश्नलाई सतहमा ल्याइदिए – मोदीको अवकासपछि उनको स्थान कसले लिन सक्छ ?
उत्तराधिकार भाजपाको तत्कालको चिन्ता होइन । यद्यपि, पार्टीले सन् २०१९ मा पार्टीका धेरै दिग्गजलाई हटाउन दलको सेवानिवृत्ति नियम प्रयोग गर्यो । तर, पार्टीले मोदीको लोकप्रियतालाई ध्यानमा राख्दै यसलाई फेरि लागू गर्ने सम्भावना कम छ । यदि भाजपाले सन् २०२९ मा पनि जित्यो भने मोदीले भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पछि पार्दै अर्को पाँच वर्ष सेवा गर्न सक्छन् ।
भाजपाको अर्को सानदार विजयले मोदीलाई सेवानिवृत्ति ढिलाइ गर्न थप छुट दिँदै शक्तिको व्यक्तिकरणलाई निरन्तरता दिनेछ । तर, निराशाजनक निर्वाचन परिणामले दाबेदारबीचको संघर्षलाई तीव्र पार्दै उत्तराधिकारका लागि आह्वान हुनेछन् । जे भए पनि संक्रमण जोखिमले भरिपूर्ण हुनेछ
मे ६ मा एक अन्तर्वार्तामा सन् २०२९ मा फेरि चुनावमा प्रतिस्पर्धा गर्ने हो भनी सोधिएको एक प्रश्नको जवाफमा मोदीले भनेका थिए, ‘एउटा व्यक्तिको भरमा कुनै पनि देश चल्नुहुँदैन,’ उनले भने, ‘तर, आशाको जप गरेर मात्र कसैले आफ्नो भविष्य लेख्न सक्दैन । जे भए पनि भाजपाले उत्तराधिकारको समस्याको सामना गरिरहेको छ । मोदी पार्टीको सबैभन्दा ठूला पुँजी हुन् । सन् २०१९ मा भाजपालाई मतदान गर्नेहरूमध्ये एकतिहाइले मुख्य रूपमा उनकै कारणले मतदान गरेका थिए । सर्वेक्षणहरूले सुझाव दिन्छन् कि मोदीको नेतृत्वविना पार्टीप्रतिको समर्थन घट्न सक्छ । जारी लोकसभा निर्वाचनमा मतदाताको न्युन उपस्थितिले ‘मोदी थकान’लाई संकेत गरेको केही विश्लेषकले तर्क गरेका छन् ।
भाजपाले पहिलेदेखि मुख्य विपक्षी दल कंग्रेसमा गान्धी परिवारको प्रभुत्वको विपरीत आफ्नो दलमा क्षमतालाई जोड दिने संस्कृति रहेको बताउदै आएको छ । यस्तो दावी गर्ने दलले मोदीको सेवानिवृत्ति (वा अचानक आउनसक्ने अस्वस्थता) को तयारीमा सम्भावित उत्तराधिकारीको रूपरेखा सुरुवात गर्न आवश्यक छ । मोदी आफै पनि आफ्नो विरासत जोगाउन सक्षम उत्तराधिकारी छनोटमा पनि चासो राख्छन् । तर, अन्य बलवान् नेताहरूजस्तै उनी आफूलाई नै ‘लेम डक(कमजोर)’ बनाउन सक्ने व्यक्तिलाई अभिषेक गर्नदेखि सावधान हुनेछन् ।
भाजपाको नेतृत्व चयनमा थप जटिल विषय दुई अन्य सरोकारवालाको भूमिकाले निम्त्याउँछ । एउटा हो, राष्ट्रिय स्वयंसेवक संघ (हिन्दू राष्ट्रवादी संगठन आरएसएस), जसबाट भाजपाको उदय भयो । यसको मुख्य चासो हिन्दू धार्मिक पहिचान रहन्छ । अर्को भाजपाको विशाल कोषको प्रमुख स्रोत व्यापारी समुदाय हो । स्वतन्त्रताको शताब्दीऔं वार्षिकोत्सव (सन् २०४७मा ) भारतलाई विकसित अर्थतन्त्र बनाउने पार्टीको लक्ष्यको नजिक पुग्न यो समुदायको आत्मविश्वास आवश्यक छ ।
सन् १९८० को दशकदेखि गुजराती र राजनीतिक सहयोगी मोदीसँगको घनिष्ठ सम्बन्धका कारण साह मोदीको उपर्युक्त उत्तराधिकारी मानिन्छन् । तर, साहले ५१ वर्षीय हिन्दू पुजारी र भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री योगी आदित्यनाथको कडा चुनौतीको सामना गर्नुपरेको छ । फेब्रुअरीमा गरिएको एक सर्वेक्षणमा उनलाई भारतको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री र मोदीको उत्तराधिकारीका लागि साहपछिको व्यक्तिको रूपमा मतदान गरिएको थियो । त्यस्तै, ६६ वर्षीय सडकमन्त्री नितिन गडकरी तेस्रो स्थानमा देखिए ।
तीनैजनाले सार्वजनिक रूपमा आफ्नो नेतृत्वको आकांक्षा देखाएका छैनन् । अझै, मञ्चपछाडि त्यहाँ केही संकेत छन् । आदित्यनाथले सन् २००२ मा हिन्दू युवा वाहिनी (हिन्दू युथ फोर्स) मिलिसिया वा एचवाइभीको स्थापना गरेपछि पहिलोपटक भजापाभित्र विवाद उत्पन्न ग¥यो । मुस्लिमहरूमाथि हिंस्रक आक्रमण सञ्चालन गर्नुका साथै यसले प्रायः हिन्दुत्व (हिन्दू राष्ट्रवाद) लाई नरम पार्ने भाजपाको आलोचना ग¥यो । केही वरिष्ठ भाजपा नेताहरू आदित्यनाथलाई युपीको नेताको रूपमा चाहँदैनन् । आदित्यनाथको बारेमा आरएसएसको पनि आपत्ति थियो, मोदी र साहविपरीत उनी आफ्नो दर्जाबाट माथि उठेका छैनन् । तर, पार्टीले उनलाई एक शक्तिशाली भोट–विजेता र हिन्दुत्व अधिवक्ताको रूपमा हेर्छ । गत वर्ष आरएसएसले आदित्यनाथ र भाजपाको राज्य एकाइबीच राम्रो समन्वयका लागि हस्तक्षेप ग¥यो ।
आदित्यनाथ भाजपाबाहिर पनि विभाजित छन् । एचवाइभी धेरै हदसम्म विघटन भए पनि उनी अझै पनि भाजपाको शीर्ष स्थानमा मुस्लिमविरोधी बयानबाजीको सबैभन्दा प्रखर रक्षक मानिन्छन् । सन् २०१९ मा निर्वाचन आयोगले मुस्लिमविरोधी टिप्पणीको कारण उनलाई तीन दिनका लागि प्रचार गर्न प्रतिबन्ध लगाएको थियो । उनको सरकारले हलाल उत्पादन प्रतिबन्ध लगाउने र आपराधिकताको आरोपमा धेरै मुसलमानको घर भत्काउने विवादास्पद नीति पनि ल्याएको छ । तर, युपी सरकारले अवैध घरलाई मात्र भत्काएको दाबी गरेको छ) । अप्रिलमा उनले कंग्रेस पार्टीले सरिया कानुन लागू गर्न चाहेको आरोप लगाए ।
त्यस्ता विकृतिले पार्टीको अपिललाई हिन्दुत्वको आधारभन्दा बाहिर सीमित पार्छ भन्ने भाजपाको चिन्ता हो । आदित्यनाथसँग व्यापक व्यापारिक समर्थनको पनि अभाव छ र केहीलाई डर छ कि साहको तुलनामा आर्थिक व्यवस्थापनमा उनले मोदीको दृष्टिकोणलाई जारी राख्ने सम्भावना कम छ । यस तथ्यका बाबजुद आदित्यनाथले हालै आर्थिक उछाल देखेका छन् । कतिपयले उनलाई नयाँ सडक निर्माण गर्ने, विदेशी लगानी आकर्षित गर्ने र सुरक्षा सुधार गर्ने श्रेय पनि दिन्छन् । जनवरीमा उनले विवादास्पद हिन्दू मन्दिरको उद्घाटन र मन्दिरवरपर ठूलो पूर्वाधारको स्तरोन्नति गरे ।
यति हुँदाहुँदै पनि साहको सम्भावना धेरै छ । उनलाई मोदीको सम्मान छ । उनले प्रहरी र अन्य सुरक्षा निकायको निगरानी गर्छन् । उनी भजपाको चुनावी रणनीतिकार र यसको निर्णय लिने संसदीय बोर्डको सदस्य पनि हुन् । आदित्यनाथलाई चुनावपछि दिल्लीमा ‘केही सुरक्षित’ मन्त्री पद दिइन्छ, आदित्यनाथबारे पुस्तकका लेखक शरत प्रधान भन्छन् । यसले युपीको नेताको रूपमा धेरै शक्तिशाली भूमिकामा रहने र गुजरातबाट प्रधानमन्त्रीमा मोदीको उछालको अनुकरण गर्ने आदित्यनाथको योजनालाई असफल बनाउँछ ।
तर, आदित्यनाथले पार्टी छोड्ने धम्की दिएर दिल्ली जाने बाटोको प्रतिरोध गर्न सक्छन् । उनलाई युपीबाट केन्द्रमा लैजाँदा त्यहाँ भाजपाको परिदृश्यलाई हानि गर्न सक्छ । मोदीले सेवानिवृत्त हुनुअघि आफूलाई उत्तराधिकारीको रूपमा अभिषेक गर्न सक्ने (सम्भवतः उपप्रधानमन्त्रीमा पदोन्नति) उनले आशा गर्न सक्छन् । तर, धेरैलाई आशंका छ कि मोदीले अरूलाई नै जिम्मेवारी दिनेछन् । त्यस अवस्थामा साहको सम्भावना कमजोर हुनेछ, किनभने उनी पार्टी र व्यवसायी नेतामाझ प्रियभन्दा बढी डरलाग्दा छन् ।
साहको अर्को कमजोरी आकर्षणको कमी हो । उनी प्रायः विपक्षी र मुस्लिमबारे उत्तेजक टिप्पणी गर्छन् । उनी वक्ता होइनन् । एक हिन्दुत्व प्रतिमाको रूपमा उनी आदित्यनाथको पवित्र गेरुवस्त्रसामु फिक्का छन् । उनको सरकारी रेकर्ड गडकरीलगायत नेताको भन्दा कम अनुभूतियोग्य छ । गडकरीलाई व्यापार र आरएसएसबाट पनि बलियो समर्थन छ । आरएसएसको मुख्यालय उनको गृहनगर र निर्वाचन क्षेत्रमा छ । तर, धर्म र अन्य मुद्दामा गडकरीको मौनताले केही भाजपा नेताहरूलाई (मोदीसहित) रिस उठेको छ र सन् २०२२ मा उनलाई पार्टीको संसदीय बोर्डबाट हटाइयो ।
यस्तो गतिशीलता कसरी विकसित हुन्छ, त्यो चुनावको नतिजामा निर्भर गर्छ । भाजपाको अर्को सानदार बिजेपी विजयले मोदीलाई सेवानिवृत्ति ढिलाइ गर्न थप छुट दिँदै, शक्तिको व्यक्तिगतकरणलाई निरन्तरता दिनेछ । तर, निराशाजनक निर्वाचन परिणामले अग्रगामी दाबेदारबीचको संघर्षलाई तीव्र पार्दै उत्तराधिकारका लागि आह्वान हुनेछन् । जे भए पनि संक्रमण जोखिमले भरिपूर्ण हुनेछ ।
– द इकोनोमिस्टबाट