मिसन २०२६ मा पाँच खेल थप

२०औँ एसियाली खेलकुदमा दोहोरोअंकमा पदक जित्ने लक्ष्य राखेको राखेपले दोस्रो चरणको विशेष प्रशिक्षणमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स खेल पनि समावेश गरेको छ ।

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा थप पाँच खेल समावेश गरेको छ । पहिलो चरणमा पाँचै खेल समावेश रहेको थियो । राखेपले सोमबार आयोजना गरेको उत्प्रेरणा कार्यक्रममा सदस्यसचिव टंकलाल घिसिङले दोस्रो चरणको विशेष प्रशिक्षणमा पाँच खेल थप भएको जानकारी दिए । 

महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्सका ५२ खेलाडीसँगै १० प्रशिक्षक दोस्रो चरणमा समावेश भएका छन् । कबड्डी र भलिबलमा समान १२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान पाँच खेलाडी रहनेछन् । एथलेटिक्समा समान चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।

जापानमा हुने २०औँ एसियाली खेलकुदलाई पदक जित्ने लक्ष्यसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० को १५ माघदेखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरेको थियो । त्यस दिनदेखि राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु भएको हो । सदस्यसचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको बताए ।

‘हामीले पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेका हौँ,’ उनले भने, ‘हामी एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायक खोजिरहेका छौँ । तपाईंहरू (खेलाडी)मध्येबाट नै हामीले खेलकुदको नायक पाउनेछौँ भन्ने मलाई पूर्ण विश्वास छ ।’ कार्यक्रममा नायक राजेश हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताए ।

‘खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्छ,’ हमालले भने । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य भएको बताए । उनले एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास दिलाए । 

सुझावित समाचार