‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन प्रमुख साह फ्रान्स प्रस्थान

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

कान्स फिल्म फेस्टिभलको ७७औँ शृंखलामा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आज फ्रान्स प्रस्थान गरेका छन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी मंगलबार बिहान २:१५ बजेको विमानबाट फेस्टिभलका लागि प्रस्थान गरेका हुन्। प्रमुख साहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल  छन् । 

उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए । 

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख साहलाई पठाएको निमन्त्रणपत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख साह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । यस्तै, अडियो भिजुअल कन्टेन्ट क्रियसन चेनको अवलोकन गर्नेछन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रूपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ ।

सुझावित समाचार