फेवातालबाट जलकुम्भी निकाल्न ४० जनालाई रोजगारी

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा आइतबारदेखि फेवाताल सफाइ अभियान सुरु गरेको छ । सफाइको पहिलो दिन १५ ट्रकभन्दा बढी जलकुम्भी झार तालबाट निकालिएको महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए ।

जलकुम्भी झारका कारण ताल कुरूप बनेपछि सफाइ अभियान सुरु गरिएको हो । बर्सान सुरु भएसँगै प्रत्येक वर्ष जलकुम्भीका कारण फेवाताल कुरूप देखिने गरेको छ । आइतबार पोखरा महानगरपालिका– १८ खपौदी ढल्केबरबाट जलकुम्भी सफाइ अभियान सुरु गरिएको पौडेलले जानकारी दिए । 

अभियानको पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेनाको कृष्णदल गण र रणचण्डी गण, महानगरीय प्रहरी, वातावरण संरक्षणकर्मी अभियन्ता, पर्यटन व्यवासायी, आमा समूह, नागरिक समाज, रेवान पोखरासँगै विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब हजारजनाको सहभागिता थियो । 

वर्षा सुरुसँगै फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झारलाई नियन्त्रण गर्न अभियान सुरु भएको हो । पहिलो दिन भकुन्डे क्षेत्रबाट १५ ट्रक जलकुम्भी झार निकालिएको संयोजक पौडेलले बताए ।पोखरा महानगरपालिकाले सोमबारदेखि स्थानीय जलारी समुदायका ४० जनालाई सफाइका लागि खटाउने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनीहरूलाई दैनिक ज्यालादारीमा खटाइने जानकारी दिए । ‘एक जलारी घर एक रोजगारी कार्यक्रम’अन्तर्गत दुई हप्तासम्म बिहान ८ दिउँसो ३ बजेसम्म काम गर्ने गरी सफाइ कार्यमा उनीहरू खट्नेछन्,’ उनले भने । माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण वर्षाको समय फेवाताल कुरूप देखिने भएकाले यसपटक समयमै यसको स्रोतमै व्यवस्थापन गर्ने गरी उनीहरूलाई खटाइएको उनको भनाइ छ । फेवातालपछि बेगनास र अन्य तालमा समेत अभियान क्रमशः सञ्चालन गरिने भएको छ ।

सुझावित समाचार