गण्डकी प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका सात स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले तेस्रो स्थापना दिवसको अवसर पारेर शनिबार पोखरामा सम्मान गरेको हो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानसँगै उनीहरूले जनही एक लाख नगद, सम्मानपत्र र दोसल्ला पाए ।
५० हजार राशिको गण्डकी प्रज्ञा नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा, २५ हजार राशिको गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधातर्फ स्याङ्जाका रविन गुरुङ र कलातर्फ मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई पुरस्कृत गरिएको थियो । प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले सम्मानका लागि स्रष्टाहरू छनोट गरेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई केही समयअघि पर्यटनको राजधानी घोषणा गरिएको स्मरण गर्दै पर्यटनसँगै पोखरा कला, संस्कृति र प्रकृतिको राजधानीसमेत रहेको बताए । उनले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकहरूको आगमन बढाउन सकिने भन्दै साहित्य, संस्कृति र कलामार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिएका थिए ।