आयोजक ललितपुर मेयर– ११ की कृतिका मरासिनीले चार बलमा चार विकेट लिएपछि बागमती पहिलो खेलमा निराश
युवा बलर कृतिका मरासिनीको ह्याट्रिक विकेटप्रेरित आयोजक ललितपुर मेयर–११ ले ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हरायो । पहिलो ब्याटिङ गरेको बागमतीले १४.२ ओभरमा अलआउट हुँदै ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ललितपुरले १३.१ ओभरमा तीन विकेट गुमाउँदै दुई अंक जोड्न सफल भएको हो ।
कृतिकाले १२ ओभरमा ह्याट्रिक पूरा गरेकी हुन् । ११.४ ओभरमा कृतिकाले खुसी डंगोललाई ६ रन बनाउँदा बोल्ड गरिन् । ११.५ ओभरमा विपिशा शाहीलाई शून्यमा कप्तान पुजा महतोबाट क्याच गराइन् । ११.६ ओभरमा मनिशा उपाध्यायलाई गोल्डेन डक गराउँदै कृतिकाले ह्याट्रिक पूरा गरेकी हुन् । कृतिकाले लगातार चौथो विकेट लिने क्रममा १३.१ ओभरमा बागमतीकी कप्तान अस्मिना कर्माचार्यलाई २० रन बनाउँदा बोल्ड गरिन् ।
ललितपुरको जितमा कप्तान पूजाले ३० बलमा तीन चौकासहित अविजित २३ रन बनाइन् । ओपनर लक्ष्मी चौधरीले ७ बलमा तीन चौकासहित १२ रनको योगदान गरिन् । यसबाहेक किरण कुवँर र सरस्वती जिएमले समान ६ रन जोडेका थिए । दुवै खेलाडी रन आउट भएका हुन् । बागमतीकी खुसीले एक विकेट लिइन् ।
चलेन बागमतीको ब्याटिङ
१९ वर्षीय कृतिका चम्किएपछि बागमतीको इनिङ्स चल्नै सकेन । कप्तान अस्मिनाले मात्रै २६ बलमा तीन चौकासहित २० रन बनाइन् । यसबाहेक कप्तान कञ्चन श्रेष्ठले १८ बलमा ११ रन बनाइन् । यसबोहक ओपनर हेलिशा गुरुङले ५, खुसीले ६ र यशोदा विष्टले २ रन बनाए । सानी पाख्रिन, सविका यादव, बिपिशा र मनिष शुन्यमा पेभिलियन फर्किएका थिए । करिश्मा गुरुङ पनि एक रन बनाएर आउट भएकी थिइन् । ललितपुरको लागि कृतिकाले दुई ओभरमा मात्र चार रन खर्चेकी हुन् । सरस्वती कुमारीले तीन तथा पुजा महतोले २ विकेट हात पारेकी थिइन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को सेमीफाइनल पुग्न सफल नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशसँगै ललितपुर मेयर्स ११ गरी कुल ५ टोलीको सहभागिता रहनेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा आयोजना हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रस्तिस्पर्धा गर्नेछन् ।