च्याम्पियन्स ट्रफीमा भारतका सबै खेल लाहोरमा

आइतबार, २३ बैशाख, २०८१
डिजिटल संस्करण

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ आयोजनाको जिम्मेवारी पाएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले भारतलाई आतिथ्य गर्न कुनै कसर बाँकी नराख्ने योजना तयार गरेको छ । पछिल्लो समय भारतले पाकिस्तान भ्रमण गरेको छैन । प्रतियोगिता अर्काे वर्षको फेब्रुअरी र मार्चमा हुने तालिका छ । यसपटक पिसिबीले भारतलाई कुनै पनि हालतमा पाकिस्तान लैजाने योजना बनाएको छ । पछिल्लोपटक एसिसी एसिया कपमा भारत पाकिस्तान नजाने भएपछि सबै खेल श्रीलंकामा सारिएको थियो । जहाँ भारतले श्रीलंकालाई दश विकेटले हराउँदै उपाधि जितेको थियो । 

यसपटक पाकिस्तानले च्याम्पियन्स ट्रफीको खेल तीन सहरमा गर्ने योजना बनाएको छ । कराँची, लाहोर र रावलपिन्डीमा खेल हुँदा भारतका सबै खेल लाहोरमा हुने बताइएको छ । टिम व्यवस्थापक र सुरक्षा प्रदान गर्न लाहौर राम्रो विकल्प हुने पिसिबीले आइसिसीलाई प्रतिवेदन बुझाएको छ । ‘भारतलाई लाहोरमा सबै खेल खेल्दा उपयुक्त हुनेछ । नजिकको बोर्डर बाधा हुँदा समस्या पर्दैन,’ पिसिबीको एक अधिकारीले भनेका छन् । आइसिसीका महाप्रबन्धक वासिम खानले हालै लाहोरको भ्रमण गरेका छन् । आइसिसी प्रतिनिधि खानले प्रतियोगिता आयोजनाको स्थलगत भ्रमण र सुरक्षाको विषयमा चासो देखाएका छन् । 

१९९६ पछि पाकिस्तानलाई मौका 

सन् १९९६ पछि पाकिस्तानलाई आइसिसी च्याम्पियन्स ट्रफीसहित कुनै पनि प्रतियोगिता आयोजना गर्ने जिम्मवोरी दिइएको छ । सन् १९९६ को एकदिवसीय विश्वकपपछि पाकिस्तानले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको हो । पछिल्लो समय सुरक्षाकै कारण पाकिस्तानमा आइसिसीको प्रतियोगिता हुन सकेका छैनन् । 

पिसिबीका अध्यक्ष मोहसिन नकवीले खेल तालिका आइसिसीलाई पठाएको बताएका छन् । ‘हामीले आइसिसीलाई खेल तालिका पठाएका छौँ । त्यसक्रममा सुरक्षाको विषयमा पनि कुरा भएको थियो । सबै पोजेटिभ भएका छन्,’ उनले भने, ‘लगातार आईसिसीसँग सम्पर्कमा रहेका छौं । उत्कृष्ट प्रतियोगिता गर्नेमा आशावादी छौं ।’

सात टोली सहभागी हुने
पछिल्लोपटक च्याम्पियन्स ट्रफी सन् २०१७ मा इंग्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्प्यिन भएको हो । प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने बताइएको छ । भारत र पाकिस्तानसँगै इंग्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, न्युजिल्यान्ड र दक्षिण अफ्रिका हुनेछन् । तर, प्रतियोगिताको तालिका सार्वजनिक भएको छैन ।

च्याम्पियन्स ट्रफी विजेता टिम

सन् १९९८ : दक्षिण अफ्रिका
सन् २००० : न्युजिल्यान्ड
सन् २००२ : भारत/श्रीलंका
सन् २००४ : वेष्ट इन्डिज
सन् २००६ : अस्ट्रेलिया
सन् २००९ : अस्ट्रेलिया
सन् २०१३ : भारत
सन् २०१७ : पाकिस्तान

See More On

सुझावित समाचार