रामेछाप नगरपालिका– ८ चौकीटारमा घर आगलागी हुँदा घरभित्र रहेकी एक युवतीको जलेर मृत्यु भएको छ। बिहीबार दिउँसो घरनजिकै जंगलमा लागेको आगो अकस्मात् घरमा सल्किँदा घरभित्र रहेकी रामेछाप नगरपालिका– ८ चौकीटारकी वर्ष ३२ की रमिता तामाङको जलेर मृत्यु भएको हो । जंगलमा लागेको आगो हावाको वेगसँगै घरमा सल्किँदा खरको छाना भएको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
सोही घरमा रहेका ४८ वटा बाख्रा पनि आगलागीमा परी जलेर मरेका छन्। जंगलमा अहिले पनि भीषण आगलागी भइरहेकाले थप घटना हुन सक्ने रामेछाप नगरपालिका– ८ का वडाध्यक्ष सन्तोषकुमार तामाङले जानकारी दिए । उनका अनुसार अहिले उक्त घटनास्थलमा प्रहरी चौकी रामेछाप डाँडाबाट प्रहरी पुगेका छन् ।
मृतक रमिताको शव पूर्ण रूपमा जलेको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। अहिले घटनास्थलको अवस्था भयावह रहेको अध्यक्ष तामाङले बताए ।