याे वर्ष आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

विश्व बैंकले चालू आर्थिक वर्षमा ३.३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ। 

पाँच महिनाअघि बैंकले यो वृद्धि ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो। सरकारले चालू आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ 

बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृद्धि ४.६ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपणसमेत विश्व बैंकले गरेको छ।

पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैंकले उक्त प्रक्षेपण गरेको हो। 

आर्थिक परिदृश्य सार्वजनिक गर्दै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोसले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए।

उनले रोजगारी सिर्जना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए। उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए।  

नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोसले तीन तहकै सरकार मिलेर निजी लगानी प्रवर्द्धनमा सघाउनुपर्ने बताए। 

सुझावित समाचार