मकवानपुरले जित्यो जितपुरसिमरा क्रिकेट कप

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

मकवानपुर क्रिकेट संघले पहिलो जितपुरसिमरा क्रिकेट कपको उपाधि जितेको छ । शनिबार जितपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा पर्सा क्रिकेट संघलाई सात विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभर खेल्दै ९१ रनको लक्ष्य दिएको थियो ।

प्रत्युत्तरमा मकवानपुरले १२.१ ओभरमा जित हात पारेको हो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साका लागि सुरज पटेलले सर्वाधिक ४५ रन बनाए । हासिम अन्सारीले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्न मकवानपुरका असिम श्रेष्ठले तीन, पियुष शर्माले दुई, विशाल फुँयाल र रोहित ठाकुरले समान एक विकेट हात पारेका हुन् । 

जवाफी ब्याटिङ गर्न आएको मकवानपुरका लागि तक्षक सिम्खडाले सर्वाधिक ३० रन बनाए । विशाल फुँयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले एक्लैले तीन विकेट लिए । उपाधि विजेता मकवानपुरले ट्रफीसहित एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पायो । मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दी टुर्नामेन्ट तथा उत्कृष्ट ब्यारट घोषित भएका छन् ।

खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव उत्कृष्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दी म्याचको पुरस्कार मकवानपुरका विशाल फुँयालले प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री एवं संविधानसभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दाहाल, मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए । अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।

See More On

सुझावित समाचार