रविलाई सूर्य नेपालको उपाधि

साबिक विजेता सदभावले अन्तिम दिन खराब प्रदर्शन गर्दा रविभन्दा सात स्ट्रोकले पछाडि परे

शुक्रबार, २५ फागुन, २०८०
डिजिटल संस्करण

साबिक विजेता तथा एमेच्योर गल्फर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्वनम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । उनले सात वर्षपछि करिअरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपिजिए म्याच प्ले जितेपछि रविको पहिलो र सूर्य नेपाल टुरको १२औँ उपाधि हो । उपाधिसँगै रविले एक लाख प्राप्त गरेका छन् । लगातार दुई दिनका शीर्ष स्थानमा रहेका सदभावले अन्तिम दिन बिहीबार ६ ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाएका हुन् । 

सदभावले समग्रमा १ अन्डर २ सय ७१ को स्कोर गरी एमेच्योरतर्फको उपाधि जिते । एमेच्योरतर्फ समग्रमा ७ ओभर २ सय ७९ को स्कोरका साथ टासी छिरिङ दोस्रो भए । उनले ३ ओभर ७१ मा खेल सकाए । समग्रमा १ ओभर २ सय ७३ सहित प्रोफेसनलतर्फ दिनेश प्रजापति, दीपक मगर र धनबहादुर थापा संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । दिनेशले अन्तिम दिन ४ अन्डर ६४ को उत्कृष्ट स्कोर बनाए । दीपकले १ ओभर ६९ र धनले ३ ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रुपैयाँ पाएका छन् । 

पहिलो दिन शीर्ष स्थानमा रहेका रामे मगरले इभन पार ६८ खेल्दै समग्रमा ४ ओभर २ सय ७६ सहित पाँचौँ स्थानमा चित्त बुझाएका छन् । उनले ३६ हजार रुपैयाँ पाए । समग्रमा ५ ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठ संयुक्त रूपमा छैटौँ स्थानमा छन् । दाबेदार भुवनले आज ८ ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौँ स्थानमा खेल सकाउन बाध्य भएका छन् । 

सुरुमा तीन स्ट्रोकले पछाडि
प्रतियोगिताको अन्तिम १८ होलको खेल सुरुमा सदभावले भन्दा ३ स्ट्रोकले अग्रता लिएका थिए । सदभावले लय गुमाउँदा रविले त्यसको फाइदा लिए । रविले पहिलो, दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । तेस्रो र सातौँ होलमा एक–एक सट खेर फाल्दा उनले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरुवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे । त्यसपिछ तेस्रो होलको डबल बोगी र आठौँ होलको बोगीले फ्रन्ट नाइन २ ओभर ३६ मा सकाए । नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे ।

खेलको टर्निङ प्वाइन्ट दसौँ होल बन्यो । सदभावले टी सट जंगलमा प्रहार गरे । सदभावले दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रिपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दसौँ होलको समाप्तिमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए । यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २ अन्डर ३२ मा नै पूरा गरे ।

सुझावित समाचार