खाँबोमा बाँधेर महिला कुट्ने १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

प्रहरी हिरासतमा रहेका सातजना कारागार चलान, तीनजना अझै फरार 

सिन्धुलीमा खाँबोमा बाँधेर महिलालाई कुटपिट गर्ने १० मध्ये सातजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  जिल्ला अदालत सिन्धुलीका न्यायाधीश रमेश शर्मा पौडेलको मंगलबारको इजलासले थुनछेक बहसपछि १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि तीनजना फरार नै छन् । प्रहरी हिरासतमा रहेका सातजनालाई भने जिल्ला कारागार सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

पीडितका श्रीमान् ४२ वर्षीय सन्तोष थापा, कमलामाई नगरपालिका– ४ का ६२ वर्षीय एक्कबहादुर खड्का, ३९ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय विष्णुकुमार ढकाल, ३८ वर्षीय ईश्वर पोखरेल र ५२ वर्षीय वीरविक्रम ढकाल कारागार चलान भएका हुन् ।

कमलामाई नगरपालिका– ४ का लक्ष्मी पोखरेल, लीलाकुमारी खड्का र गणेश देवकोटा भन्ने कुलविक्रम देवकोटा भने फरार छन् । डिएसपी दाहालले फरार रहेकाको खोजी भइरहेको बताए ।

कमलामाई नगरपालिका– ४, ढकालगाउँकी ३७ वर्षीया शारदा थापालाई शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा १० मध्ये सातजनालाई प्रहरीले पक्राउ गरेको थियो । पीडित थापाले घटनामा संलग्न १० जना रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले शरीर बन्धक लिएको (दफा २१२) शरीर बन्धक र कुटपिट अंगभंग मुद्दामा अनुसन्धान गरेको थियो ।

ऋण नतिरेको भन्दै उनीहरूले थापालाई पुस ५ देखि ८ गतेसम्म बन्धक बनाई कुटपिट गरेका थिए । शरीर बन्धक बनाई कुटपिट गरिरहेको अवस्थामा ८ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले घटनास्थलबाट पीडितलाई अचेत अवस्थामा उद्धार गरेका थिए । उनलाई घरको खाँबो, बिजुलीको पोलमा डोरीले बाँधेको र कुटपिट गरेका थिए ।

See More On

सुझावित समाचार