बंगलादेशका नवनिर्वाचित सांसदले लिए शपथ

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको शपथ लिएका छन्।

सांसदहरूलाई बंगलादेशको संसद्का सभामुख शिरिन शर्मिन चौधरीले शपथ गराएका हुन्। समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए।

निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लिग पार्टीले दुई सय ९८ मध्ये दुई सय २२ सिट जितेको छ।

आवामी लिग नेतृत्वको गठबन्धनले दुई सय २५ सिट जितेको छ। आमचुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारूढ अवामी लिग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए।

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्र रूपमा हुनेमा आशंका व्यक्त गर्दै बंगलादेश नेसनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन्।

सुझावित समाचार