कडा सुरक्षाबीच बंगलादेशमा मतदान जारी

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

कडा सुरक्षा व्यवस्थाबीच बंगलादेशमा मतदान जारी छ। आइतबार १२औँ राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले को दुई सय ९९ प्रतिनिधि चुन्नका लागि बिहानैदेखि मतदान सुरू भएको छ। 

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशंका गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) सहितका केही दलले आइतबारको मतदान बहिष्कार गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्रहरू निर्धारित गरिएको छ। अपराह्न ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन्। यो निर्वाचनका लागि कुल ११ करोड ९६ लाख व्यक्ति मतदान गर्न योग्य रहेका छन्। 

निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदाताहरूमध्ये झन्डै आधा महिला छन् भने पहिलोपटक मतदानका लागि योग्य बनेका मतदाताको संख्या लगभग एक करोड ५० लाख छ। 

अलजजिराका अनुसार प्रमुख विपक्षी दल बिएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ। मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ। 

बिएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीहरूमाथिको दमनका बीच ‘अवैध सरकार’विरुद्ध ४८ घन्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ। सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो।

ढाका ट्रिब्युनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बंगलादेशभरका निजी अस्पताल र क्लिनिकहरूलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कुल एक हजार पाँच सय उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्।
 

सुझावित समाचार