श्रीलंकाका विदेशमन्त्री काठमाडौंमा, आज संयुक्त आयोगको बैठक

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

श्रीलंकाका विदेशमन्त्री अली साब्री तीनदिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आएका हुन् । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बिहीबार बस्नेछ । 

‘श्रीलंकाका विदेशमन्त्री आइपुग्नुभएको छ । दुई देशको संयुक्त आयोगको बैठक बिहीबार बस्नेछ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता ऋषिराज आचार्यले भने । उनका अनुसार परराष्ट्रसचिव सेवा लम्सालले श्रीलंकाली परराष्ट्रमन्त्री साब्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । काठमाडौं आएलगत्तै बुधबार साब्रीले महाराजगन्जस्थित श्रीलंकाली दूतावासको भ्रमण गरेका थिए । बैठक तयारीकै विषयमा नेपालका लागि श्रीलंकाली राजदूत जनरल सुदर्शना पाथीरानाले सोमबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका थिए । 

संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउदले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । ‘प्रतिनिधिमण्डलमा विभिन्न एजेन्डासँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि सहभागी हुनुहुन्छ,’ सहायक प्रवक्ता आचार्यले भने । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ । 

सुझावित समाचार