गाजामा नयाँ युद्धविरामका लागि वार्ता गर्न हमास प्रमुख इजिप्टमा

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट पुगेका छन्।

इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनी इजिप्ट गएका हुन्। 

संयुक्त राष्ट्रसंघले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ।

गाजापट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमास स्रोतले बुधबार जनाएको छ।

कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ।

इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका एक सय २९ जना बन्धकहरूको रिहाइका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मंगलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने संकेत दिएका थिए। 

इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताउँदै आएका छन्।

यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुईपटक युरोप भ्रमणमा पठाएको बताए।

यसैबीच प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहादले मंगलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुईजना बन्धकलाई जीवितै रहेकाे देखाइएको दाबी गरेको छ।

बिबिसीकाे सहयाेगमा। 

सुझावित समाचार