नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण

बैंक ठग्ने अधिकृतलाई आठ वर्ष कैद

नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो ।

न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८/८ वर्ष कैद सजाय सुनाइएको छ । आठजना प्रतिवादी रहेकामध्ये पाँचजना माथि कसुर कायम भएको छ भने तीनजनालाई विशेषले सफाइ दिएको छ । मुद्दा दायर भएको चार वर्षपछि फैसला भएको हो । 

गौतम कृषि विकास बैंकको स्वयम्भु शाखामा कार्यरत थिए । जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो । गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाएर बैंकमा विभिन्न आर्थिक गतिविधि गर्ने गरेका थिए । नक्कली राहदानीसमेत बनाएर नेपालबाहिर फरार हुने उद्देश्यले योजनाबद्ध ढंगले गौतमले थापाको परिचय खडा गरेर कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले देखाएको थियो ।

आठ वर्ष नै कैद सजाय पाएका कृष्णहरि थापाको पनि यसमा मिलेमतो देखिएको थियो । उनले पनि नक्कली नागरिकता बनाएका थिए । राजीव थापा नामले कृष्णहरिले नागरिकता बनाई केदारसँग मिलेर नक्कली बैंक खाता खोल्ने, भारतमा बसी बैंकमा भएको रकम र हिनामिना भएको रकम व्यवस्थापनमा भूमिका खेलेकोजस्ता आरोप अख्तियारले लगाएको थियो । 

यसैगरी, इजलासले सम्झना पोखरेल गौतम, सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूलाई जनही १/१ महिना कैद सजाय सुनाएको छ । सम्झना केदारप्रसादकी श्रीमती हुन् । सम्झना आफ्नो नाममा रहेको जग्गाजमिन बेची भारत जाने तयारीमा थिइन् । अनियमित तरिकाबाट प्राप्त रकम लुकाउने दुराशयपूर्ण उद्देश्य राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएकोमा कसुर ठहर भएको हो ।

यसैगरी, गुप्ताले गौतमले निकालेको रकम अन्य खातामा जम्मा गरिदिने र भारत पुर्याउन सहयोग गर्ने गरेका थिए । अर्कोतिर लिम्बूले पनि वसन्त राई भनी नक्कली नामले किर्ते नागरिकता बनाएको खुलेको थियो । उनले पनि गुप्तालेझैँ गौतमलाई सहयोग गर्ने गरेका थिए ।

यसै मुद्दामा प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले सफाइ पाएका छन् । बानियाँ स्वयम्भु शाखाका तत्कालीन शाखा प्रबन्धक हुन् भने श्रेष्ठ गौतमकी कान्छी श्रीमती हुन् । भुजेल भने गैरकानुनी तवरले आर्जित सम्पत्तिले जग्गा कारोबारसमेतका कार्यमा संलग्न रहेको अभियोग थियो । बिगो तथा जरिवाना भने तोकिएको छैन ।

See More On

सुझावित समाचार