कांग्रेसले संघीय सांसदहरूको आधा महिनाको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय लिएको छ । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले कांग्रेसका प्रतिनिधिसभामा ८८ र राष्ट्रिय सभाका १० गरी ९८ सांसदको आधा महिनाको तलब करिब २७ लाख रुपैयाँ भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । ‘राहत, उद्धार र पुनस्र्थापनाका लागि संघीय संसद्का कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको १५ दिनबराबरको पारिश्रमिक सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने ।
सांसद प्रदीप पौडेलले भने एक महिनाको तलब भूकम्पपीडितलाई उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, कांग्रेसले सरकारी कोषमा उपलब्ध गराउने ५० लाख रकमसमेत बैठकले अनुमोदन गरेको छ । थप रकमका लागि पार्टीका निकायलाई कांग्रेसको राहत कोषमा सहयोग उपलब्ध गर्न अपिलसमेत गरेको छ । यससँगै केन्द्रीय सदस्य जिपछिरिङ लामाले ११ लाख, पूर्वसांसद दिव्यमणि राजभण्डारीले पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । कांग्रेसले बैठकले प्रभावितको राहत र उद्धार, उपचार र भूकम्पपछिको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, यस्तै कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपत् व्यवस्थापनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’समेत गठन गरेको छ । समितिलाई स्थलगत अनुगमनदेखि पार्टी र सरकारसँग समन्वय गरेर राहत, उद्धार र पुनस्र्थापनाका लागि पहल र समन्वयको जिम्मेवारी दिइएको छ । प्रचार विभाग प्रमुख विश्वकर्माले समितिले स्थलगत अध्ययन र समन्वय गर्ने जानकारी दिए । ‘राहत वितरण र पुनस्र्थापनालगायत विपत् व्यवस्थापनका सम्पूर्ण काममा सहजीकरणका लागि महामन्त्रीद्वयको संयोजकत्वमा समिति बनाइएको छ । समितिले अनुगमन तथा सहजीकरणको काम गर्नेछ । समितिले स्थलगत अनुगमन, पार्टीपंक्तिको परिचालनदेखि राज्यसँग पहलसम्मको सबै काम गर्नेछ,’ विश्वकर्माले भने ।
नेविसंघले शिक्षण अस्पताल महारागन्जमा भूकम्पबाट घाइते भई उपचाररत र तिनका कुरुवालाई फलफूल र आवश्यक सहयोग गरेको छ । नेविसंघ नेता उज्ज्वल बज्राचार्यका अनुसार घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका आवश्यक सामग्री उपलब्ध गराइएको छ । अध्यक्ष दुजाङ शेर्पासमेतको उपस्थितिमा आवश्यक सहयोग उपलब्ध गराइएको थियो । नेविसंघ केन्द्रीय कार्यसमितिले शिक्षण अस्पताल महाराजगन्जमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । कार्यक्रमका संयोजक बज्राचार्यका अनुसार आइतबार ५ बजेसम्ममा ६२ जनाले रक्तदान गरेका छन् ।
नेसपाले सरकारी कोषमा १० लाख जम्मा गर्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले सरकारी कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । भूकम्पपीडितलाई राहत उपलब्ध गराउन कोषमा रकम जम्मा गर्ने निर्णय भएको नेसपाले जनाएको छ । नेसपाले उद्धार र राहतमा खटिन पार्टीपंक्तिलाई निर्देशनसमेत दिएको छ । उद्धार र राहतका लागि उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा तीन सदस्यीय टोली परिचालित भएको छ ।
माओवादीले राहत र पुनर्निर्माणमा ५० लाख दिने
सत्तारूढ माओवादीले भूकम्पपीडितलाई राहत र पुनर्निर्माणमा ५० लाख सहयोग गर्र्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले सरकारी कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । ‘राहत कोषमा ५० लाख पार्टी केन्द्रको तर्फबाट जम्मा गर्ने र प्रदेश कमिटीलाई कम्तीमा एक लाख सहयोग गर्न आह्वान गर्ने निर्णय भएको छ,’ महासचिव गुरुङले भने । माओवादीले राहत र पुनर्निर्माणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव गुरुङलाई दिएको छ ।
राहत र पुनर्निर्माणका लागि सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएको छ । राहत र पुनर्निर्माणको काम एकद्वार प्रणालीमार्फत प्रभावकारी ढंगले अगाडि बढाउन माओवादीले सरकारलाई सुझाव दिएको छ । ‘एकद्वार प्रणालीबाट काम गर्दा प्रभावकारी हुन्छ । सरकारी कोषमार्फत खर्च गर्दा समानुपातिक रूपमा पीडितसम्म पुग्छ । आफूखुसी गर्दा कसैलाई धेरै र कसैसँग राहत नै नपुग्ने अवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्छ,’ गुरुङले भने । माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जारी राख्ने भएको छ ।