आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको समूह ‘ए’ मा नेपालले मलेसियाविरुद्ध बलिङ गर्ने भएको छ।
त्रिवि मैदानमा मलेसियाले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो। यसै समूहमा ओमानले सिंगापुरलाई २२ रनले हराउँदै चार अंकका साथ शीर्ष स्थानमाथि कब्जा जमाएको छ।
नेपालले लगातार दोस्रो खेलमा जित निकाली ओमानको शीर्ष स्थानलाई विस्थापित गर्ने योजना बनाएको छ। यसअघि सोमबार नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरमाथि आठ विकेटको सानदार जित निकालेको थियो।
सन् २०२० यता नेपाल र मलेसियाबीच पाँचपटक अन्तर्राष्ट्रिय टी–२० खेल भएको छ। जसमा नेपालले चार र मलेसियाले एक खेलमा जित निकालेको छ। सन् २०२० को २९ फेब्रुअरीमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो। त्यसयता नेपाल मलेसियामाथि अपराजित छ।
अर्को वर्ष वेस्टइन्डिज र अमेरिकाले संयुक्त रूपमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्दै छन्। एसियन छनोटबाट दुई टोली विश्वकपमा पुग्नेछन्। नेपालमा चलिरहेको छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले स्थान बनाउनेछन्।