रास्वपाले आफ्ना सांसदको सार्वजनिक सुनुवाइ गर्ने

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

जनस्तरबाट सुझाव लिएपछि राजनीतिक दस्ताबेजका लागि विज्ञसँग पनि सुझाव लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सबै सांसदको सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले आफ्ना सबै सांसदको सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको हो ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले भने, ‘पार्टीका सबै सांसदले सार्वजनिक सुनुवाइ गर्ने निर्णय केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गरेको छ । सबै सांसदको सार्वजनिक सुनुवाइको मिति, समय र स्थान यथाशीघ्र प्रकाशित गरिनेछ ।’

बैठकले पार्टीको राजनीतिक दस्ताबेज निर्माणको क्रममा विभिन्न क्षेत्रका विज्ञ, बौद्धिक र पेसा व्यवसायीसँग छलफल गर्ने निर्णय पनि लिएको छ । देशका १९ जिल्ला पुगेर जनस्तरबाट सुझाव लिएपछि रास्वपाले विज्ञसँग पनि सुझाव लिने निर्णय गरेको हो । प्रवक्ता ढकालका अनुसार केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले विज्ञसँग सुझाव लिन सांसद डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरेको छ । 

बिहीबार सार्वजनिक निर्णयअनुसार बैठकमा ३ देखि ७ असोजसम्म भएको जनआवाज सुन्ने कार्यक्रमको समीक्षा पनि भएको थियो । महामन्त्री ढाकालका अनुसार जनताको उत्साहजनक सहभागिताका साथ कार्यक्रम एकदमै प्रभावकारी रहेको बैठकको निष्कर्ष छ । ‘यस्तो कार्यक्रमलाई पार्टी जीवनकालमा निरन्तरता दिने निर्णय भएको छ,’ उनले भने ।  

शिक्षा विधेयकमा असहमति
रास्वपाले हालै सदनमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा पार्टीको गम्भीर असहमति रहेको जनाएको छ । बैठकले विधेयक संशोधनका लागि लागि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । सरोकारवालासँग छलफल गरेर विधेयकमाथि पार्टीका तर्फबाट राखिने संशोधनको मस्यौदा तयार गर्न पार्टीकी शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । शिक्षा विभागलाई विधयेक मन्थन विभाग प्रमुख गणेश कार्की, पूर्वशिक्षामन्त्री शिशिर खनाल र संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य डा. तोसिमा कार्कीले सहयोग गर्नेछन् ।

तीनवटै प्रकरणमा वस्तुनिष्ठ अनुसन्धानको माग
रास्वपाले ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा सरकारले गलत मनसाय राखेको आरोप लगाउँदै वस्तुनिष्ठ अनुसन्धानको माग गरेको छ । ‘प्रारम्भमा सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध सकारात्मक सुरुवातको संकेत गरे पनि उसका पछिल्ला गतिविधि र निर्णयमा प्रशस्त संशय देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा भएको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको छ । अभियुक्तले किटान गरेका मात्र होइन प्रहरीको प्रतिवेदनमा समेत उल्लेख भएका कतिपय राजनीतिकर्मीप्रति नरम नीति लिएको आशंकालाई सरकारका गतिविधि र निर्णयले बल दिएको छ ।’ 

रास्वपाको बैठकले ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल, तत्कालीन मुख्यसचिवलगायतलाई मुद्दा नचलाउनुले सरकारले गलत मनसाय राखेको पुष्टि भएको दाबी गरेको छ । सात दलबीच ५ असोजमा  सुन तस्करी प्रकरणको थप छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भए पनि कार्यान्वयन नभएकाले रास्वपाले आपत्ति जनाएको छ । सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको भन्दै तत्काल गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गरेको छ ।

See More On

सुझावित समाचार