विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न जरुरी छ : अर्थमन्त्री महत

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्नेबित्तिकै विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए। 

नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिविनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताउँदै नेपालबाट जाने विद्यार्थीहरू राम्रा विश्वविद्यालयहरूमा नगएको र अध्ययन पूरा गर्न सक्ने राम्रो अवसरसमेत पाउन नसकेको बताए। 
नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रा क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता भए पनि  कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेका छन्। 

नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताउँदै पछिल्लो समय ठूलो संख्यामा युवाहरू आइटीमा लागे पनि करको दायरामा भने नआएको उनको भनाइ थियो।  

उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्डबराबरको सफ्टवेयर निर्यात हुने गरेको उल्लेख गर्दै स्वदेशमै आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे। आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि उनले बताए।

सुझावित समाचार