मनमोहन प्राविधिक विश्वविद्यालयको वार्षिक उत्सवको अवसरमा स्कुल अफ इन्जिनियरिङले विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ।
विश्वविद्यालयको सातौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ बुढीगंगा–४ हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिभिल इन्जिनियरिङतर्फ स्नातक तह प्रथम सेमेस्टरका विभिन्न ८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।
जनही ७१ हजार १७५ रुपैयाँको छात्रवृत्ति पाउने विद्यार्थीहरूमा सिभिल इन्जिनियरिङतर्फ प्रेरणाकुमारी यादव र इलेक्ट्रिकल इन्जिनियरिङतर्फ सुयोग भण्डारी रहेका छन्।
त्यसैगरी, सिभिल इन्जिनियरिङतर्फ आयुष्मा राई, विप्लव चौधरी, ज्ञान गिरी र नितिनकुमार कर्णले जनही २८ हजार ८५० रुपैयाँको सहुलियत छात्रवृत्ति प्राप्त गरेका छन्। यस्तै, इलेक्ट्रिकल इन्जिनियरिङतर्फ विपेन निरौला र अपेक्षा चौधरीले पनि जनही २८ हजार ८५० रुपैयाँको सहुलियत छात्रवृत्ति प्राप्त गरेका छन्।
सबै विद्यार्थीलाई विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारी र स्कुल अफ इन्जिनियरिङका डिन डा. रेखा श्रेष्ठले सम्मानसहित नगद छात्रवृत्ति प्रदान गरेका थिए।
२०७६ साल असार १६ गते कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई हरेक वर्ष जेहेन्दार, सहुलियत तथा समावेशी छात्रवृत्ति वितरण गर्दै आएको छ।
सातौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी, शिक्षक तथा पदाधिकारीहरूले शुक्रबार विश्वविद्यालय परिसरमा दीप प्रज्वलन गरी शुभकामना आदानप्रदानसमेत गरेका थिए।
‘स्कुल अफ इन्जिनियरिङ’, ‘स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एन्ड ल’ अनि ‘स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेस’ गरी तीनवटा स्कुल रहेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल स्नातक र स्नातकोत्तर तहमा सिभिल तथा इलेक्ट्रिकल इन्जिनियरिङ, कानुनतर्फ स्नातक तहमा बीएएलएलबी तथा अपराधशास्त्रतर्फ स्नातकोत्तर तहमा एलएलएम र स्नातकोत्तर तहमा अस्पताल व्यवस्थापन पढाइ हुँदै आएको छ।