चोरीको सुन खरिद गरेको आरोपमा लामागादे पक्राउ

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

रामेछापको सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा रहेको नवदुर्गा सुनचाँदी उद्योगका सञ्चालक कृष्ण लामागादे (तुलबहादुर विश्वकर्मा) चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ परेका छन्।

स्थायी घर चितवन भएका लामागादे करिब १७ वर्षदेखि रामेछापको सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी हाल नेपाल सुनचाँदी व्यवसायी संघ, रामेछापका कार्यवाहक अध्यक्षसमेत रहेका छन्।

उनले दोलखाको जिरी नगरपालिकाका दुई महिलाको लुटिएको सुन खरिद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका लामागादेलाई दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोचनले जानकारी दिए।

करिब एक महिनाअघि जिरी नगरपालिका–३ र ६ का दुई महिलाले लगाएको करिब डेढ तोला सुन लुटिएको थियो। उक्त सुन रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेकी मैया कार्कीले लुटेकी थिइन्। कार्कीले जिरीमा लुटेको दुई जनाकै सुन मन्थलीमा रहेको नवदुर्गा सुनचाँदी पसलमा ल्याएर बिक्री गरेको प्रहरीले जनाएको छ।

लामागादे पक्राउ परेसँगै मन्थलीमा चोरीको सुन तथा गहना खरिद गर्ने थप चार व्यवसायीसमेत पक्राउ परेका छन्। यसअघि नै मन्थलीका तीनवटा सुनचाँदी व्यवसायीलाई रामेछाप प्रहरीले पक्राउ गरी चोरीको सुन खरिद गरेको आरोपमा मुद्दा चलाएको थियो।

पछिल्लो समय रामेछापमा एकपछि अर्को गरी चोरीको सुन खरिद गरेको आरोपमा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्रहरीको खोजी र अनुसन्धान तीव्र बनेको छ। यससँगै रामेछापका नागरिकलाई सुन खरिद तथा बिक्री गर्दा सचेत रहन आग्रह गरिएको छ।

सुझावित समाचार