सहरमा सजिँदै ह्यांगिङ प्लान्ट

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

घरको सजावट र सुन्दरताका लागि सामान्यतया आँगन र गमलामा फूल रोप्ने चलन छ । विभिन्न प्रजातिका फूलले घरको सुन्दरता बढाउने र रमाइलो वातावरण सिर्जना गर्ने गर्छन् । त्यसैले, सुन्दर बगैँचालाई इज्जतको प्रतीक पनि मानिन्छ । नेपालमा हिजोआज बगैँचाका सौखिन पनि बढेका छन् । पछिल्लो समय आधुनिक जीवनशैलीसँगै घरको सजावटमा पनि परिवर्तन आएको छ ।

सहरी क्षेत्रमा घरको आँगन, कौसी, भर्याङ, बार्दली, झ्याललगायत ठाउँमा ह्यांगिङ बिरुवा अर्थात् गमलामा झुन्ड्याएर राख्ने चलन बढ्दो छ । फ्लोरीकल्चर एसोसियसन नेपालका उपाध्यक्ष सीताराम पन्त आधुनिक शैलीमा निर्माण भएका घरबाहिर र भित्र ह्यांगिङ प्लान्ट सजाउनेको संख्या बढेको बताउँछन् । ‘घर ठूला वा साना भए पनि बाहिरी आकर्षण बढाउन ह्यांगिङ प्लान्टको बगैँचा बनाउन सकिन्छ । झ्याल, बार्दली, कौसीमा झुन्ड्याएर राख्न मिल्छ भने आँगनमा पनि स्ट्यान्ड बनाएर राख्न सकिन्छ,’ उनी भन्छन्, ‘फरक रङ र प्रजातिका फूलको प्रयोग गर्दा  घरको सुन्दरतामा निखार आउँछ । लहरा प्रजातिका फूल र बिरुवा आकर्षक देखिन्छन् । कतिपयले झ्यालमै गमला झुन्ड्याएर राखेको पनि देखिन्छ ।’

थोरै क्षेत्रफलमा भएको घरमा पनि ह्यांगिङ प्लान्टको उचित व्यवस्थापन गरेर राख्न सकिने उनले बताए । ‘फूलका पारखीहरूले थोरै क्षेत्रफलमा पनि बिरुवाहरू सजाउने गरेका छन् । पछिल्लो समय नेपालमा पर्खाल गार्डेन बनाउने चलन पनि सुरु भएको छ । फूलले घर आकर्षक बढाउने मात्रै होइन, सकारात्मक सोच प्रवाह गर्ने काम गर्छ । त्यसैले घर, कार्यालय, होटेल–क्याफे सबैतिर राख्ने चलन आएको हो,’ उनले भने । 

गमला घरका सञ्चालक दीपेन्द्र तन्डुकार घामको प्रकाश देखिने ठाउँमा साना तथा लहरायुक्त बिरुवालाई ह्यांगिङ बास्केटमा राखेर सजाउन सकिने बताउँछन् । ‘आफ्नो रुचिअनुरूप फरक–फरक बिरुवा सजाउन सकिन्छ । घरमा मात्र होइन, ह्यांगिङ प्लान्टको प्रयोग व्यावसायिक भवन, कार्यस्थल, पसलमा पनि गर्न सकिन्छ,’ उनले भने ।

घरको बाहिरी भागमा मात्र होइन, बगैँचालाई समेत थप आकर्षक बनाउन पनि ह्यांगिङ प्लान्टको प्रयोग गर्न सकिने तन्डुकारले बताए । ‘इन्डोरमा राख्न पनि मिल्छ । तर, घामको प्रकाश देखिने ठाउँमा राख्नुपर्छ,’ उनले भने ।  उनका अनुसार डंकी टेल, ब्ल्याक पर्ल, ,स्पाइटर स्ट्रङ अफ पर्ल, बनाना, ह्यांगिङ जिरेनियम, ह्यांगिङ पिटुनियालगायत लहरा प्रजातिका बिरुवा धेरैको रोजाइमा पर्ने गरेको छ । 

ह्यांगिङ प्लान्टका लागि छुट्टै ठाउँको आवश्यकता नपर्ने उनी बताउँछन् । ‘ह्यांगिङ गमला विभिन्न आकारका पाइन्छन् । रेलिङमा राख्न हुक भएको गमला पाइन्छ । तर, प्लास्टिक गमला प्रयोग गर्नु राम्रो हुन्छ, उनले भने, ‘फूल सजाएर पनि घरका विभिन्न भागलाई सुन्दरता ल्याउन सकिन्छ । ह्यांगिङ बास्केट रङ र बिरुवाहरू छनोट गर्ने सक्नुपर्छ । फूल रोप्ने भाँडोमा रंगीचंगी फूल एवं विभिन्न प्रजातिका विरुवा प्रयोग गर्न सकिन्छ ।’

घरको वरिपरि तथा घरभित्र ह्यांगिङ गार्डेन बनाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले उपयुक्त ठाउँ छनोट गर्नुपर्छ । ‘टिपिदिने वा मुन्टा भाँचिदिने खतरा हुन्छ, त्यसैले लहरा झुन्ड्याउन मिल्ने र बालबालिकाले नभेट्ने ठाउँमा रोप्दा राम्रो हुन्छ,’ उनले भने । 

भुईंमा गमला राख्ने ठाउँ नभएकाले झुन्ड्याएर राख्न सकिन्छ, जसले घरको लुक्स नै परिवर्तन गर्छ । भित्तामा राख्न मिल्ने ‘स्ट्यान्ड’मा सामान्य प्लास्टिकको गमलामा रोप्न मिल्छ,’ उनी भन्छन्, फूल फुल्ने र नफुल्ने विभिन्न प्रजातिका बिरुवा पाइन्छन् । तर, लहरा फैलिने खालका जातका बिरुवा रोज्दा राम्रो हुन्छ ।

‘घरको मूल ढोकाको दुवैतिर ह्यांगिङ फूल राख्न सकिन्छ । जसले  पाहुनालाई स्वागतको आभास दिलाउँछ । प्लास्टिकको गमलामा सानो खालको बिरुवा उपयुक्त हुन्छ,’ उनले भने । 

See More On

सुझावित समाचार