नेपालमा पहिलोपटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

नेपालमा पहिलोपटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ। ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवर्द्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गर्न लागेको हो।

नेपाल ब्याडमिन्टन संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भदौ १ देखि ५ गतेसम्म यू–१५ र यू–१७ साउथ एसिया रिजनल च्याम्पियनसिपमा गर्ने जनाएको छ। उक्त च्याम्पियनसिपमा यू–१५ र यू–१७ उमेर समूहमा दक्षिण एसियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको चुनौती रहनेछ।

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मुख्यालयमा रहेको एपिएफ क्लबमा हुनेछ। च्याम्पियनससिपमा यू–१५ तर्फ गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गर्ल्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ। यू–१७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिस्पर्धा हुनेछ। यी दुवै उमेर समूहमा टिम प्रतिस्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ।

आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनकी ब्याडमिन्टन एसियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिइन्। आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउनेछ।

यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एसिया ब्याडमिन्टनका सिनियर डेभलपमेन्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताए। यस कार्यक्रमबाट एसियाभरबाट २० जना छनोट हुने र प्रत्येक देशबाट समान एक गर्ल्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिए। छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन्।

सुझावित समाचार