डोल्पाको डाँगीबाडा १५ वर्षदेखि पहिरोको उच्च जोखिममा

पहिरोकाे त्रासमा रातभर निदाउँदैनन् स्थानीय

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पाको डाँगीबाडा गाउँ पहिरोको उच्च जोखिममा छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत वडा नम्बर ८ र ९ मा पर्ने डाँगीबाडाका ७५ घरधुरी पहिरोको उच्च जोखिममा हुन्।

बस्तीभन्दा माथिबाट भित्रभित्रै बगिरहेको पानीले जमिन भिजेपछि बस्तीभन्दा माथि र तल दुवैतिर जमिन बिस्तारै सर्दै गएकाे स्थानीयले बताए। ०६५ सालदेखि डाँगीबाडाका एक सय ७० घरधुरी नै पहिरोको जोखिममा परे पनि र त्यसमध्ये ७५ घरधुरी रहेकाे बस्ती नै सार्नुपर्ने अवस्थामा रहेको स्थानीयको भनाइ छ।

स्थानीय राजबहादुर डाँगीले भने, ‘बर्खामा पहिरोको त्रासले रातभरि निद्रासमेत लाग्दैन, १५ वर्षदेखि यस्तो जोखिम माेलेर बसेका छाैँ। कसैले चासो दिँदैनन्।’

प्रत्येक चुनावमा नेताहरूको यसलाई चुनावी एजेन्डा बनाए पनि जितेर गएपछि स्थानीयकाे समस्या वर्षाैँदेखि जस्ताकाे तस्तै छ। ‘जीवनको टुंगो नभएपछि करिब ४० धरधुरीले घर भत्काएर अर्को ठाउँमा सरिसके। बिहान–बेलुका छाक टार्न मुस्किल हुनेहरू मृत्यु कुरेर बसेका छाैँ,’ अर्का स्थानीय युवा देव डाँगीले दु:खेसो पोखे। 

बिस्तारै गाउँ नै बगिरहेकाले अर्को ठाउँमा नसारेसम्म जोखिम नघट्ने उनको भनाइ छ। यता नगर प्रमुख सुवर्ण बुढाले पनि बाहिबाट तटबन्ध गरेर बस्तीको जोखिम नटर्ने बताए। बस्ती भित्रभित्रै बगिरहेकाले बस्ती सार्नुको विकल्प नरहेको उनको भनाइ छ। 

‘अघिल्लो आवमा जोखिममा रहेको यो बस्ती नै सार्न माग गर्दै प्रदेश सरकारलाई पनि गुहार्याैँ, तर अन्तिम अवस्थामा बजेट काटियो,’ उनले भने, ‘स्थानीय सरकारको बजेटले धान्न नसक्ने भएकाले फेरि पनि संघ र प्रदेश सरकारलाई अनुरोध गर्छौँ,आशा छ दुवै सरकारले जनताको समस्या बुझ्नेछन्।’ 

डाँगीबाडावासीले जतिसक्दो छिटो बस्ती सार्न पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

See More On

सुझावित समाचार