रावललाई एमालेमा सक्रिय गराउन कसरत, ओली-रावलबीच डेढ घण्टा संवाद

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण
रावललाई एमालेमा सक्रिय गराउन कसरत, ओली-रावलबीच डेढ घण्टा संवाद

तस्बिर साैजन्य : एमाले अध्यक्षकाे सचिवालय ।

एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच डेढ घण्टा छलफल भएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई नेताबीच मात्र छलफल भएको हो। पार्टीको दशौँ महाधिवेशन सकिएको २० महिनापछि ओली–रावलबीच पहिलोपटक औपचारिक संवाद भएको हो। 

दशौँ महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए। तर, त्यसयता उनी एमालेका राजनीतिक गतिविधिमा सक्रिय थिएनन्। 

दुई नेताबीच अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति, एमालेको आन्तरिक राजनीति र पार्टी केन्द्रीय कमिटीले अघि सारेको पछिल्लो अभियान, रावलको सम्भावित जिम्मेवारीलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको छ। 

भेटपछि पूर्वउपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग फेरि पनि छलफल गर्ने समझदारी भएको बताए। लामो समय पार्टी काममा निष्क्रिय रहेका रावल एक महिनादेखि गृहजिल्ला अछाम हुँदै पार्टीको बैठक र सार्वजनिक कार्यक्रमहरूमा सक्रिय हुँदै आएका थिए।

‘एकअर्काबीच के छ, कसो छ भन्ने भलाकुसारी भए। देशको अवस्था, पार्टीको अवस्थाका विषयमा आ-आफ्ना सोच र दृष्टिकोणका बारेमा सामान्य कुराकानी भए। फेरि पनि कुराकानी हुन्छ,’ रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो। उहाँ पार्टीको अध्यक्ष। उहाँलाई देशविदेशको सूचना, जानकारी हुन्छ, म पनि अध्ययन गर्ने नै मान्छे हुँ, त्यसैले के कसो छ भन्ने कुराकानी आदानप्रदान भयो।’

रावललाई पार्टीको जिम्मेवारीमा फर्काउने गरी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अलग्गै वार्ता समिति बनेको थियो। पौडेल नेतृत्वको टोलीसँग रावलले करिब तीन महिना पहिल्यै छलफल गरेका थिए। त्यसलगत्तै ओलीसँग संवादपछि रावलको जिम्मेवारीको टुंगो लाग्ने नेताहरूले बताउँदै आएका थिए। पछिल्लो भेटमा उनको जिम्मेवारीमै केन्द्रित रहेर कुराकानी भएको एमाले नेताहरूले अनुमान गरेका छन्।

सुझावित समाचार