विनोद शाही हत्या प्रकरण : आरोपित रिहाइपछि प्रदर्शन

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

अछाममा विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाइ गरेपछि मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार विनायक बजारस्थित मध्यपहाडी लोकमार्गमा टायर बालेर सडक बन्द गर्दै प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद २१ जेठ ०७९ मा मृत अवस्थामा भेटिएका थिए ।

यो घटनाका मुख्य अभियुक्त भनिएका सज्जनलाई प्रहरीले २२ साउनमा काठमाडौंको धापासीबाट पक्राउ गरेको थियो । थुनछेक बहसको क्रममा अदालतले कमजोर स्वास्थ्य अवस्था र वृद्ध रहेकाले बाहिरबाटै तारेखमा रही पुर्पक्ष गर्न धरौटीमा रिहाइ गरेपछि सोमबार मृतकका आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।

कक्षा १० मा अध्ययनरत विनोदको हत्यापछि किटानी जाहेरी परेका जम्मा १३ जनामध्ये जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहित द्रोपती शाही, कर्ण शाही र शान्ति शाही अहिले पनि फरार रहेको प्रहरी निरीक्षक विष्टले बताए । अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा जिल्ला अदालत अछामको २४ असार ०७९ को इजलासले हत्यामा संलग्न रहेको भनिएका देवेन्द्र शाही, महेन्द्र शाही, पृथ्वी शाही र वीरेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । 

किटानी जाहेरी परे पनि पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीको घटनामा संलग्नता रहेको प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थिएन । यो मुद्दा अछाम जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ । 

सुझावित समाचार