डब्लुएचओ दक्षिण–पूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण
डब्लुएचओ दक्षिण–पूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्य

आचार्यको पक्षमा कूटनीतिक प्रयास, बंगलादेश प्रतिस्पर्धी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी दिएको छ । आचार्य विश्व स्वास्थ्य संगठनका देशगत रणनीति तथा सहायतासम्बन्धी विभागमा निर्देशकका रूपमा कार्यरत छन् । 

यसका मतदाता मुलुक नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, पूर्वी टिमोर, म्यानमार र उत्तर कोरिया हुन् । परराष्ट्र मन्त्रालयले ७ साउनमा संयुक्त राष्ट्रसंघ मुख्यालयलाई आचार्यको उम्मेदवारीबारे जानकारी दिएको छ । आचार्यको प्रतिस्पर्धीमा बंगलादेशबाट साइमा बाजेद होसैनको उम्मेदवारी परेको छ । साइमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । 

दक्षिण–पूर्वी एसिया निर्देशक निर्वाचित पद हो । २०२३ को अन्तिममा यो पदका लागि निर्वाचन हुन लागेको छ । क्षेत्रीय निर्देशकको कार्यकाल पाँच वर्षको हुनेछ । दक्षिण–पूर्वी एसियाको स्वास्थ्य प्राथमिकता निर्धारण, बजेट तथा रणनीतिक मामिलामा निर्देशकको निर्णायक भूमिका हुन्छ । 

नेपाल सरकारले सम्बन्धित मतदाता मुलुकलाई आचार्यको पक्षमा सहयोग गर्न र मत दिन कूटनीतिक च्यानलबाट चिठी पठाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मतदाता मुलुकका सबै समकक्षीलाई चिठी लेखेर नेपालका उम्मेदवारलाई सहयोग र समर्थन गर्न आग्रह गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित मतदाता मुलुकलाई चिठी लेखेर नेपालका उम्मेदवारका पक्षमा मत दिन आग्रह गरेको छ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगले आचार्यको पक्षमा माहोल बनाउन समन्वय गरिरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रले भारत र भुटानसँग समन्वय गर्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ । इन्डोनेसियासँग समन्वयका लागि बंगलादेशको ढाकामा रहेको नेपाली राजदूतावास, नेपालका लागि उत्तर कोरियाको राजदूतावासलाई समन्वय भएको परराष्ट्रले जनाएको छ । म्यानमारले नेपाललाई सहयोग गर्ने वचन दिइसकेको छ । श्रीलंकास्थित नेपाली राजदूतावास, बैंककस्थित नेपाली राजदूतावास तथा जेनेभास्थित राष्ट्रसंघीय मिसनले पूर्वी टिमोरसँग समन्वय गरिरहेको छ । 

आचार्यले भनेका छन्, ‘मैले जितेँ भने देशको सेवाका लागि र यो क्षेत्रको जनताको स्वास्थ्य सुधारका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नेछु ।’ विश्वको एकचौथाइ जनसंख्याको बसोवास रहेको दक्षिण–पूर्वी एसियाका जनताको स्वास्थ्य सुधार आफ्नो मुख्य प्राथमिकतामा रहने उनको भनाइ थियो ।

‘एकजना अनुभवी अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिज्ञका रूपमा मेरो प्रयास यो क्षेत्रका सबै नागरिकलाई स्वास्थ्यसम्म पहुँच स्थापित गर्नुपर्छ भन्नेमा छ र हुनेछ,’ आचार्यले भने, ‘सांगठनिक नेता र जनस्वास्थ्य विज्ञका रूपमा मैले तीन दशकको अनुभव हासिल गरेको छु । मैले ग्रामीण नेपालका विभिन्न समुदाय र जिल्लामा आर्जन गरेको तथा राष्ट्रिय, क्षेत्रीय वैश्विक रूपमा हासिल गरेको अनुभव यो क्षेत्रका लागि समर्पित गर्नेछु ।’ 

सुझावित समाचार