निगमको पोखरा डिपोमा इन्धन अपचलन, ३१ सय लिटर बढी पठाउँदै गरेको अवस्थामा पक्राउ

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराले १२ हजार लिटरको पैसा लिएर स्थानीय पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पलाई १५ हजार एक सय नाै लिटर डिजेल पठाउँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, कास्कीले बिहीबार साँझ लु.२ख ८३६ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निगमको ट्यांकरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिलमा उल्लेख भएभन्दा बढी डिजेल पाइएको बताए।

‘समातिएको ट्यांकरबारे अनुसन्धान गर्दा तोकिएभन्दा तीन हजार एक सय नाै लिटर बढी डिजेल आयल निगमको डिपोले पठाएको भेटियो,’ प्रजिअ घिमिरेले भने। 

सो डिपोले तोकिएभन्दा बढी तेल पेट्रोलपम्पलाई पठाउने र निगमलाई हानि–नोक्सानी पुर्याउने गरेकोबारेमा जिल्ला प्रशासन कार्यालयमा निरन्तर गुनासो आउने गरेको थियो।

बिहीबार साँझ पनि उजुरीकै आधारमा निरीक्षण गर्न खटिएको जिप्रकाको टोलीले ट्यांकरलाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी घिमिरेले यो विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउने जानकारी दिए।
 
‘हामी यस्तो घटनाको अनुसन्धान गर्दैनौँ। त्यसैले दोषीलाई कडाइका साथ कारबाही गर्न अख्तियारलाई अनुसन्धानको जिम्मा दिने तयारीमा छौँ,’ उनले भने।

कास्कीको गगनगौँडास्थित सो डिपो प्रमुखमा उपनिर्देशक चित्तरञ्जन दास कार्यरत छन् । उनी गत असोजमा सो डिपो प्रमुखका रूपमा सरुवा भई गएका हुन्। दास त्यहाँ सरुवा भएर पुगेदेखि इन्धन अपचलनको घटना वृद्धि भएको स्रोतको भनाइ छ। 

डिपो प्रमुख दास, अप्रेसन विभागमा कार्यरत कर्मचारी र पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा एकैपटक तीन हजार लिटरभन्दा बढी तेल अपचलनको घटना भएको स्रोतको भनाइ छ।

दास निगमभित्र विवादित पात्र मानिन्छन्। उनी यसअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गरेको उजुरी परेको थियो। 

उनले पोखरामा रहँदा पटक–पटक पेट्रोलपम्पलाई तोकिएभन्दा बढी तेल दिएर व्यक्तिगत लाभ लिने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन्।

डिपो प्रमुख दासको संलग्नतामा बिहीबार साँझ तोकिएभन्दा बढी पठाइएको तीन हजार एक सय नाै लिटर डिजेलको बजारमूल्य चार लाख ७५ हजार ६ सय ७७ रुपैयाँ हुन आउँछ। यो रकमको २० देखि ५० प्रतिशतसम्म पेट्रोलपम्पलाई छाडेर बाँकी ५० देखि ८० प्रतिशत हुन आउने रकम डिपो प्रमुख दासले बुझ्ने गरेको स्रोतको भनाइ छ। 

‘बढी पठाएको तेलको जति मूल्य हुन्छ। त्यसको कम्तीमा ५० प्रतिशत हुन आउने रकम डिपो प्रमुखले बुझ्ने गरेका छन्,’ स्रोतले भन्यो, ‘यसो गर्दा इन्धन अपचलनमा संलग्न डिपो प्रमुख, कर्मचारी र पम्प सञ्चालकलाई फाइदा हुन्छ, तर निगमलाई भने नोक्सानि भइरहेको छ।’

यसरी जानाजान बढी पठाइएको तेललाई आयल निगमले तापक्रम तथा कार्यगत नोक्सानीमा देखाउने छुट दिएको छ। यही कारण पोखरासहित अन्य डिपोमा समेत इन्धन अपचलन हुने गरेको कर्मचारीहरू बताउँछन्।

इन्धन अपचलन घटनाबारे बुझ्न डिपो प्रमुख दासलाई सम्पर्क गर्दा उनको मोबाइल अफ छ। उनको बारेमा सोधीखोजी गर्दा शुक्रबार कार्यालयसमेत नगएको पाइएको प्रजिअ घिमिरेले जानकारी दिए।

सुझावित समाचार