तीन खेलमा मेसीका पाँच गोल

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसीले इन्टर मियामीमा आफ्नो उत्कृष्ट लयलाई यथावत् राखेका छन् । मेसीलाई अनुबन्ध गरेसँगै मियामीले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । मेसीले तीन खेलमा पाँच गोल गरेका छन् । मेसीले डेब्यु खेलमा क्रुज अजुलविरुद्ध विजयी गोल गरे । उनले दोस्रो खेलमा एटलान्टा युनाइटेडविरुद्ध दुई गोल गरेका थिए । 

मेसीकै उत्कृष्ट प्रदर्शनमा मियामी लिग कपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान मियामीले ओर्लान्डो एफसीलाई ३–१ ले हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो । क्वार्टरफाइनल प्रवेशका लागि मियामीले एफिसी डलाससँग खेल्नेछ । घरेलु मैदान डिभिआरमा मेसीसँगै बार्सिलोनाका पूर्वसहकर्मी जोर्डी अल्बाले पनि डेब्यु गरे । 

अल्बा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । अघिल्लो साता बार्सिलोनाका पूर्वकप्तान सर्जियो बुस्केटले मियामीका लागि डेब्यु गरेका थिए । मेसी पेरिस सेन्ट जर्मेनमा दुई वर्षको बसाइ अन्त्य गर्दै यसै सिजन अमेरिकामा व्यावसायिक लिग खेल्न आएका हुन् । मियामीलाई ओर्लान्डोविरुद्ध जित दिलाउन मेसीले दुई गोल गरेका थिए । ओर्लान्डोबाट सेजार अरौजोले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा मेसीले मियामीलाई १–० को अग्रता दिलाए । रोबर्ट टेलरको पासमा उनले सिक्स यार्ड बक्समा बललाई नियन्त्रण लिँदै गोल गरेका हुन् । अरौजोले १७औँ मिनेटमा बराबरी गोल गरेका थिए । 

मियामीले दोस्रो हाफमा दुई गोल गरेको थियो । मध्यान्तरपछि टनेल छिर्ने क्रममा मेसी अरौजोसँग असन्तुष्ट देखिए । यसै कारण उनले पहेँलो कार्ड पाए । मार्टिनेजले पेनाल्टीमा गोल गर्दा मियामी ५१औँ मिनेटमा २–१ को स्थितिमा पुग्यो । मेसीले ७२औँ मिनेटमा टेलरकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रमा टेलरले मिलाएको एयर बललाई मेसीले भली गोल गरेका हुन् । 

See More On

सुझावित समाचार