धरान उपमहानगरपालिका क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ। नगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरानमा दुई हजार ६ सय ५४ जना डेंगु संक्रमित भेटिएका छन्।
चार हजार चार सय ५३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। हालसम्म आठजनाले डेंगु संक्रमणबाट ज्यान गुमाइसकेका छन्। संक्रमण दर ६० प्रतिशत रहेको महाशाखाले जनाएको छ।
डेंगु संक्रमण दर उच्च देखिएपछि उपमहानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चलन गरेको छ। मंगलबार बसेको कार्यपालिकाको आकस्मिक बैठकको निर्णयअनुसार बुधबार टोलटोलमा अभियान सञ्चालन गरिएको हो। टोल विकास समितिहरूको नेतृत्वमा सबै वडाहरूमा अभियान सञ्चालन गरिएको उपमहानगरले जनाएको छ। अभियानका लागि बुधबार धरान क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूलाई बिदा नै दिइएको थियो।
१५ नम्बर वडाकी सदस्य तथा सामाजिक विकास समिति संयोजक सिर्जना नेपालका अनुसार अभियानका क्रममा ९० प्रतिशत घरहरूमा लार्भा भेटिएको थियो। साना बस्तीहरूमा अझै पनि भाँडामा पानी संकलन गरेर राखेको पाइएकाले लार्भा भेटिएको उनले बताइन्।
१८ बेडको डेंगु अस्पताल सुरु
उपमहानगरपालिकाले बिरामीको सहजताका लागि बुधबारदेखि नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारको समन्वयमा १८ बेडको डेंगु अस्पतालसमेत सुरु गरेको छ।
बिरामीको चाप हेरेर थप १२ बेड थप्ने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए। यसका लागि प्रदेश सरकारले एक चिकित्सक र एक नर्स उपलब्ध गराएको छ। अन्य उपमहानगरबाट चिकित्सक खटाएर धरान– १२ स्थित पुरानो अस्पतालमा डेंगु अस्पताल सुरु गरिएको हो।