पार्किङ गरी राखिएको बसभित्र लगेर ७३ वर्षीया वृद्धा महिलामाथि बलात्कार

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

बलात्कारको आरोपमा दुई युवा पक्राउ 

दाङको तुलसीपुरमा पार्किङ गरी राखिएको बसभित्र ७३ वर्षीया वृद्धामाथि बलात्कार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि  दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  

उपचारका लागि भन्दै महिला प्युठानबाट तुलसीपुर आएकी थिइन् । ती महिला घर जान भन्दै राति बसपार्क पुगेकी थिइन् । सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्कभित्र पार्किङ गरी राखेको ना.४ख ७८४८ नम्बरको बसभित्र पुर्याई पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

बलात्कार गरिरहेको अवस्थामा ती महिला कराइरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी बसपार्क पुगेर दुईजना युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका– १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका- ७ का २० वर्षीय रेशम विक रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार