२१ वर्षपछि रेल चढ्न पाउँदा...

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

महोत्तरीको भंगाहा– ४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा– ५ स्थित रेल स्टेसनबाट उनी रेल चढिन्।

‘हमरा सैद्खन रेल चलके इन्तिजार छल, आव पूरा भेल (मलाई सधैँ रेल कहिले चल्ला भन्ने पर्खाई थियो, अब पूरा भयो)’, भंगाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साट्दै बाँतरले भनिन्, ‘आब चल्ली जनकपुर ! घुइमफिरक सझुका रेलस घर चैल आयब (अब हिँडे जनकपुर ! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।’ 

०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भासिएपछि रेलसेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो । आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भंगाहा– ४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दंग छिन्। 

‘आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)’, रेल चल्दा खुसी भएकी सदाले भनिन्।

आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर–बर्दिबास रेल्वेको भंगाहा–कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गरेपछि सोमबारदेखि नियमित रेलसेवा सुरु भएको हो । रेलसेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसियाली छाएको छ। 

आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुमाउन लगेको सम्झदै भंगाहा– ४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भने, ‘रेल चढ्न फेरि पायौँ, अब जनकपुरदेखि भारतको जयनगरसित सीधा सम्पर्कमा जोडिएका छौँ।’

०५९ अघि भंगाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई बिजलपुरा भनिन्थ्यो । यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेलसेवा सञ्चालनमा थियो । बर्खेभेलले बिग्ही नदीको पुल भासिएपछि रेलसेवा बन्द हुन पुगेको थियो । त्यतिखेर कोइला–दाउराले इन्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ। इन्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए। 

रेलसेवा विस्तार भई अब जयनगर–बर्दिबासम्म चल्ने भएको छ । यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था–जयनगर) को ३५ किलाेमिटर दूरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ।

सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भंगाहा–कुर्था) को दूरी १७ किलाेमिटर छ । तेस्रो खण्ड (भंगाहा–बर्दिबास) को १८ किलाेमिटर दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्याेल छ। तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ । किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।    

‘भंगाहा–कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किलाेमिटरमा नियमित चल्ने भएको छ,’ उनले भने, ‘अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्नेछ।”

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो। बर्दिबास (महोत्तरी)–जनकपुरधाम (धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीमध्ये अब ५२ किलाेमिटरमा रेल चल्न थालेको छ।  

रेलसेवा सञ्चालनका तिथिमिति पटकपटक तोकिए पनि रेल नचलेपछि महोत्तरीको भंगाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिंग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निराश भएका थिए।

अहिले दैनिक एकपटक साँझ भंगाहा आउने र बिहान ७ः३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ । पछिल्लोपटक ०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था–जयनगर) मा सञ्चालनमा आएको रेलसेवा गत मंसिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो । सो खण्डको सेवा आजदेखि तीनपटक गरिएको कम्पनीले जनाएको छ।  

सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरूप भारत सरकारको रु. सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका वेला उल्लेखित रकमपछि समय लम्बिँदै जाँदा रु. १२ अर्ब पुगेको)मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो । निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ। रासस 

सुझावित समाचार