जयनगर-कुर्था-बिजलपुरा रेल सञ्चालन [भिडियाेसहित]

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेलसेवा सञ्चालनमा आएको छ।

गत ०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेलसेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो।  उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन्। 

कुर्थाबाट बिजलपुरासम्मकाे निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो। 

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झन्डा देखाएर सुरुवात गरेका हुन्। रेल उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए।
 
उनले जयनगर–बिजलपुरा–सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताउँदै मन्त्री ज्वालाले बर्दिबासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको जानकारी गराए। 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक रेल सञ्चालन गरिने बताए। कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वेमार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ। 

बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि एक किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ। रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। 

सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो। जयनगर–कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन–हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब बिजयपुरासम्म थप दुई हल्ट र दुई स्टेसन थपिएका छन्।

सुझावित समाचार