नेपाल एपिएफ क्लब सातौँ प्रधानमन्त्री राष्ट्रिय भलिबल क्लब लिगको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । प्रतियोगिताको पुरुषतर्फ मंगलबार एपिएफले सैलुङ बागढुंगामाथि रोमाञ्चक ३–० को सहज सेटमा पराजित गर्दै अन्तिम दुई स्थानको आशा जीवितै राखेको हो । लिगमा एपिएफले लगातार तेस्रो जित निकाल्यो । एपिएफ २६–२४, २५–१५ र २८–२६ को सेटमा विजयी भएको हो । लिगमा एपिएफले पहिलो खेलमा दावाली मिलनलाई ३–० ले हराएको थियो । एपिएफ दोस्रो खेलमा गण्डकी प्रदेशविरुद्ध ३–१ ले विजयी भयो ।
यसैगरी, नेपाल पुलिस र हेल्प नेपालले चौथो दिन पनि जित निकालेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा पुलिसले दावाली मिलन क्लबलाई ३–० ले पराजित गरेको हो । पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पार्यो । पुलिसको तीन खेलबाट आठ अंक भयो । पुलिसले आफूले खेलेका तीनवटै खेल जिते
पनि गण्डकीसँग अंक बाँडेको थियो ।
पुरुषतर्फ अर्को खेलमा हेल्प नेपालले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० ले हरायो । हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ ।लिगअन्तर्गत महिलातर्फ एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–९, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गर्यो । एपिएफले तीन खेलबाट आठ अंक जोडेको छ । एपिएफले आर्मीसँग अंक बाँडेको थियो ।
न्यु डायमन्डले त्रिभुवन आर्मीलाई ३–२ को रोमाञ्चक सेटमा निराश बनायो । पहिलो र दोस्रो सेट २५–१५ र २५–२१ ले आफ्नो पक्षमा पारेको न्यु डायमन्ड त्यसपछि दुई सेटमा पराजित भयो । पाँचौँ तथा अन्तिम सेटमा न्यु डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै दुई अंक जोड्यो । राउन्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गर्ने टोलीबीच फाइनल हुनेछ ।