एक प्रहरी अधिकारीले १७ वर्षीय किशोर नहेललाई ‘प्वाइन्ट–ब्ल्यांक रेन्ज’ अर्थात् नजिकैबाट गोली दागिएको क्रुर भिडियो भाइरल भएपछि फ्रान्सका विपन्न र पिछडिएका क्षेत्रका सडक अहिले विद्रोहको अवस्थामा छन् । मैले अन्तर्राष्ट्रिय मिडियामा यस्तो शीर्षक देखें, ‘फ्रान्सले जर्ज फ्लोयडको क्षण सामना गर्दै छ ।’ मानौँ, हामी अचानक यस नश्लीय प्रहरी हिंसाको मुद्दामा जागिरहेका छौँ । यो तुलना स्वयंले प्रणालीगत नश्लवादी हिंसाको विरोधलाई प्रतिबिम्बित गर्छ, जुन दशकौँदेखि फ्रान्सेली कानुन व्यवस्थामा सन्निहित छ ।
म सन् २००५ को घटना (नहेलको हत्यासँग धेरैहदसम्म मिल्दोजुल्दो)पछि पहिलोपटक जातिवादविरोधी अभियानमा संलग्न भएका थिए । १५ देखि १७ वर्ष उमेर समूहका तीन किशोरलाई दिउँसो साथीहरूसँग फुटबल खेलेर घर फर्किँदै गर्दा अचानक प्रहरीले पिछा गर्छ । उनीहरूले केही गल्ती गरेका थिएनन् (पछि अनुसन्धानबाट पनि यही पुष्टि भयो) तर, ती भयभीत बालक प्रहरीको डरले बिजुलीको सबस्टेसनमा लुक्न पुग्छन् । तीमध्ये दुईजना जायद बेन्ना र बोउना ट्राओरे करेन्ट लागेर त्यही मरे । तेस्रो व्यक्ति मुहिटिन अल्तुन गम्भीर रूपमा घाइते भए ।
ती किशोर मेरै भाइ वा भतिजा पनि त हुन सक्थे । म अझै पनि उनीहरूको मृत्युमाथि अभिव्यक्त अविश्वासको भावना सम्झन्छु । ‘म उनीहरू त्यो पावरप्लाइन्टमा गएको र भयानक घटना भएको कल्पना गर्दै छु । त्यस्तो ठाउँमा गएपछि त कोही पनि बाँच्ने सम्भावना हुँदैन,’ एक प्रहरी अधिकारीले त्यस भयानक घटनालाई हलुका रूपमा टिप्पणी गरेका थिए । उनको भनाइमा यसका लागि प्रहरी होइन, उनीहरू आफैँ दोषी थिए ।
यस घटनापछि फान्स हप्तौँसम्म अशान्त रह्यो । तर, अहिलेको नहेलको मृत्युमा जस्तै सन् २००५ को त्यस घटनामा पनि सुरुमा सञ्चारमाध्यम र राजनीतिक क्षेत्रको प्रतिक्रिया पीडितलाई नै अपराधीकरण गर्ने, उनीहरूको विगतको छानबिन गर्ने खालको थियो । मानौँ, तीमध्ये कुनैले उनीहरूको पाशविक हत्यालाई न्यायोचित ठहर्याउनेछ । त्रासदीको जिम्मेवार पीडित स्वयंलाई नै ठहर्याउन खोजियो । त्यतिवेला गृहमन्त्री रहेका निकोलस सार्कोजीले दोषी भएका कारण पक्राउ पर्ने डरले भाग्दा मृत्यु भएको भनेर उनीहरूको अपमान गरेका थिए । ‘यदि तपाईंसँग लुकाउनुपर्ने केही छैन भने तपाईं पुलिस देख्दा भाग्नुहुन्न नि !’, उनले भनेका थिए ।
प्रहरीभित्रको जातीय भेदभावको मनोवृत्ति र संरचनामाथि प्रश्न उठाउनुको सट्टा व्यक्तिगत प्रहरी अधिकारीमा ध्यान केन्द्रित हुने हो कि भन्ने डर छ । अहिलेसम्म कुनै पनि प्रतिवेदन र निर्णयले प्रहरीलाई संस्थागत रूपमा अर्थपूर्ण ढंगले सुधार गर्न सकेको छैन ।
फ्रान्समा प्रहरीका क्रुरताका घटनाहरू हरेक वर्ष बढ्दै गएका छन् । डिफेन्डर अफ राइट्सका अनुसार फ्रान्समा अश्वेत वा उत्तर अफ्रिकी मूलका युवा पुरुषहरू बाँकी जनसंख्याको तुलनामा प्रहरीको चेकजाँचमा पर्ने सम्भावना २० गुणाले बढी छ । प्रणालीगत प्रहरी विभेद गरी खानतलासी लिइएको भनेर दिइएका उजुरीमा कारबाहीको मार्ग नै बन्द गरिएको छ । यस्तोमा हामी प्रहरीसँग नडराए को डराउँछ ?
मानव अधिकारको जन्मथलो मानिएको हाम्रो देशलाई सन् १९९९ मा उत्तर अफ्रिकी मूलका एक युवकमाथि प्रहरीद्वारा यौन दुव्र्यवहार गरेको अभियोगमा युरोपेली अदालतले निन्दा नै गरेको थियो । ‘पहिचान जाँच प्रणालीलाई फ्रान्सेली प्रहरीले दुरुपयोग गरेको छ । यी दुव्र्यवहारमा बारम्बार (अन्तर्वार्ता दिने व्यक्तिको भनाइमा अनगिन्ती) खानतलासी, कहिलेकाहीँ शारीरिक र मौखिक दुव्र्यवहार समावेश छन्’, सन् २०१२ मा ह्युमन राइट्स वाचले भनेको थियो । अहिले नहेलको मृत्युपछि अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उक्त निकायले फ्रान्सलाई आफ्नो कानुन प्रवर्तन गराउने निकायहरूमा रहेका ‘जातीयता र जातीय भेदभावको गहिरो समस्या’लाई सम्बोधन गर्न आग्रह गरेको छ ।
हाम्रा आफ्नै अदालतले पनि ‘हदैसम्मको लापरबाही’का लागि फ्रान्स सरकारको निन्दा गरेका छन् । सन् २०१६ को फैसलामा ‘फ्रान्समा जातीय अभिलेखको अभ्यास दैनिक वास्तविकता रहेको देखियो, अन्तर्राष्ट्रिय, युरोपेली र घरेलु संस्थाहरूको निन्दा र फ्रान्सेली अधिकारीहरूले उच्चस्तरमा गरेका प्रतिबद्धताका बाबजुद यसमा कुनै सकारात्मक नतिजा देखिएन’ भनेको थियो । सन् २०२२ को डिसेम्बरमा पनि जातीय भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिले फ्रान्सेली राजनीतिज्ञहरूको नश्लभेदी अभिव्यक्ति र केही अल्पसंख्यकहरूलाई लक्षित असमानुपातिक प्रहरी आइडी जाँचको निन्दा गरेको थियो ।
यस्ता डरलाग्दा निष्कर्ष का बाबजुद हाम्रा राष्ट्रपति इमानुएल म्याक्रोन अझै पनि ‘प्रहरी हिंसा’ शब्दको प्रयोगलाई अस्वीकार गर्छन् । यसपटक भने म्याक्रोनले स्पष्ट रूपमा प्रहरी हिंसाको निन्दा गरेका छन्, जुन महत्वपूर्ण छ । तर, मलाई प्रहरीभित्रको जातीय भेदभावको मनोवृत्ति र संरचनामाथि प्रश्न उठाउनुको सट्टा ध्यान व्यक्तिगत प्रहरी अधिकारीमा केन्द्रित हुने हो कि भन्ने डर छ । अहिलेसम्म कुनै पनि प्रतिवेदन र निर्णयले प्रहरीलाई संस्थागत रूपमा अर्थपूर्ण ढंगले सुधार गर्न सकेको छैन ।
अझ खराब त के भने, सन् २०१८ मा पारित एउटा कानुनले प्रहरीलाई बन्दुकको प्रयोग गर्न थप सजिलो बनाएको छ । अधिकारीहरूले अब आत्मरक्षाको बहानामा औचित्यविनै गोली चलाउन सक्छन् । अनुसन्धानकर्ता सेबास्टियन रोचेका अनुसार कानुनमा गरिएको यस परिवर्तनपछि गुडिरहेको सवारीसाधनमाथि प्रहरीबाट घातक गोली प्रहारको घटना पाँच गुणाले बढेको छ । गत वर्ष १३ जनालाई तिनकै सवारीसाधनमा गोली हानी हत्या गरिएको थियो ।
नहेलको मृत्यु लामो र दर्दनाक कथाको एउटा अर्को अध्याय हो । हाम्रो उमेर जतिसुकै भए पनि हामीमध्ये धेरैजसो फ्रान्सेली (जो उत्तर–औपनिवेशिक आप्रवासनबाट आएका हौँ)भित्र यो डर व्याप्त छ, जुन दशकौँदेखि सञ्चित अन्यायको परिणाम हो । यस वर्ष हामी एउटा महत्वपूर्ण घटनाको ४०औँ वार्षिकोत्सव मनाउँदै छौँ । सन् १९८३ मा लियोन बान्लायुकी १९ वर्षीया किशोरी टोउमी डिजाइड्जा प्रहरी हिंसाको सिकार भएकी थिइन्, जसले उनलाई दुई हप्ता कोमामा पु¥याएको थियो । ’समानता र जातिवादविरुद्धको मार्च ‘को सुरुवात यहीँबाट भएको हो । राष्ट्रियस्तरको पहिलो यस जातीयताविरोधी प्रदर्शनमा एक लाख मानिस सहभागी थिए ।
४० वर्षदेखि यो आन्दोलन अथक छ । हामीले श्रमिक वर्गका, अझ व्यापक रूपमा भन्दा अश्वेत र उत्तर अफ्रिकी मूलका मानिसलक्षित हिंसालाई रोक्न आह्वान गर्न छोडेका छैनौँ । प्रहरीका यी अपराध फ्रान्सका विपन्न सहरी क्षेत्रका धेरैजसो दंगाका मूल कारण हुन् । वर्षौँका जुलुस, याचिका, खुलापत्र र सार्वजनिक अनुरोधपछि पनि आफ्नो कुरा नसुनिएपछि सुनाउने उपायका रूपमा एउटा युवाले दंगाबाहेक अर्काे कुनै उपाय फेला पार्दैन । नहेलको मृत्युले ध्यानाकृष्ट गरेको छ । मार्टिन लुथर किङले ठीकै भनेका हुन्– ‘दंगा बेवास्तामा परेकाहरूको भाषा हो ।’
(डियालो फ्रान्सेली लेखक, पत्रकार, फिल्म निर्देशक तथा अभियन्ता हुन्) द गार्जियन