सरकार एनआरएनसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्य गर्दै देशको समृद्धिका लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्। ओमानको राजधानी मस्कटमा बुधबार आयोजित आठाैँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै  उनले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै द्रुत गतिमा काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका  समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए । खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । 

मन्त्री खड्काले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने उल्लेख गर्दै संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन आएकाले छिट्टै नियमावलीको काम सकिने बताए। उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए।  
 
सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघीय सांसद रघुवीर महासेठले गैरआवासीय नेपाली संघलाई सक्रिय र बलियो  बनाउ जोड दिए। उनले संस्थाभित्र एकता कायम गरी  एकीकृत रूपमा अघि बढाउन नेपालका राजनीतिक दलहरूले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए।

सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापानलगायत विभिन्न मुलुकका करिब पाँच सय प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार (३० जुन २०२३) सम्पन्न हुनेछ ।
 

सुझावित समाचार