नाै प्रतिशतभन्दा बढी ब्याज नलिने गरी लघुवित्तीय संस्था खोल्छौँ : मुख्यमन्त्री शर्मा

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

कर्णाली प्रदेशले लघुवित्तीय संस्था सञ्चालन गर्ने भएको छ। सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने गरी प्रदेशभरका सबै पालिकामा शाखा हुने गरी लघुवित्तीय संस्था खोल्ने तयारीमा सरकार रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताए।

आइतबार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका गाउँ सभाको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी वर्षको नीति कार्यक्रममा लघुवित्तीय संस्था खोल्ने विषय समेटिएको बताए। ‘अहिले जनता महँगो ब्याजदरमा फसिरहेका छन्, व्यवसाय गर्न चाहनेहरूका लागि हामी सस्तो ब्याजदरमा ऋण दिने गरी वित्तीय संस्था खोल्ने तयारीमा छौँ,’ उनले भने।

हाल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरू सहरकेन्द्रित रहेको र गाउँमा पुगेकाहरू पनि सडककेन्द्रित भएको उल्लेख गर्दै उनले दुर्गमका जनतालाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा ल्याउन र सिंगल डिजिटको ब्याजदरमा ऋण प्रवाह गर्न प्रदेश आफैँ वित्तीय संस्था सञ्चालन गर्ने तयारीमा रहेको मुख्यमन्त्री शर्माको भनाइ छ।

त्यस्तै, उनले आर्थिक सम्पन्नता र सामाजिक न्याय अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए। गरिबी अन्त्य गरेर आर्थिक सम्पन्नता हासिल गर्ने र सामाजिक न्याय अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ। 

बजेट, कर्मचारीलगायतको उपलब्धताको हिसाबले कर्णालीमा अझै पनि  संघीयता आउन नसकेको उनको टिप्पणी छ। प्रदेशमा ११ सय बढी कर्मचारी अभाव रहेकाले योजनाअनुसार काम गर्न नसकिएको उनले बताए।

सुझावित समाचार