खानेपानी पुर्याउन नगरपालिकाले थाल्यो लिफ्टिङ योजना
धुनीबेँसी नगरपालिका– ७ गुर्धुमवासीकी मैना तामाङ एकाबिहानै पानी लिन पँधेरो खोला पुग्ने गरेकी छिन् । बिहानभरको उनको समय पानीको जोहो गर्नमै बित्ने गरेको छ । तर, अब उनको दैनिकीले सहजता पाउने भएको छ । धुनीबेँसी नगरपालिकाले खानेपानीको व्यवस्थाका लागि लिफ्टिङ योजना सुरु गरेको छ ।
धुनीबेँसी नगरपालिका– ७ गुर्धुमवासीलाई घन्टौँ धाएर पानी खाने बाध्यताको विकल्प खोजिएको हो । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत नगरप्रमुख बालकृष्ण आचार्यले पँधेरा खोलाबाट लिफ्टिङ गरी खानेपानी व्यवस्थापन गर्न मंगलबार गुर्धुम लिफ्ट खानेपानी योजनाको शिलान्यास गरे । गाउँको पँधेरो खोलामा पनि ट्यांकी बनाउन शिलान्यास गरिएपछि अब छिट्टै पानी आउने आशा मैनाजस्ता धेरैलाई पलाएको छ ।
०७२ को महाभूकम्पका कारण घरनजिकैको मूल सुकेपछि गुर्धुमवासीको दैनिकी पानी बोकेरै बितिरहेको छ । ‘भिरको बाटो एक गाग्री पानीले ज्यानै लिने हो कि भन्ने डर हुन्थ्यो । म त घुँडाको बिरामी हुँ, हिँड्न पनि सक्दिनँ,’ मैनाले भनिन् । ४९ वर्षीया रूपा तामाङ पनि गाउँमै खानेपानी आउने भएपछि खुसी छिन् । ‘गाउँबाट चार घन्टा हिँडेपछि मात्रै नगरपालिका पुगिन्छ । सडक सञ्जाल जोडिए पनि सधैँ सवारीसाधन पाइँदैन । हाम्रो माग राख्न पनि गाह्रो छ,’ उनले भनिन् । गुर्धुम गाउँमा ६५ घरपरिवार छन् ।
असार मसान्तसम्म गुर्धुमवासीलाई गाउँमै पुर्याएर पानी खुवाउने धुनीबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । ‘गत आर्थिक वर्षमा ४० लाखले गाउँमा एक–एक लाख लिटरको ट्यांकी निर्माण गरिएको हो । चालू आर्थिक वर्षमा ७० लाख रकमबराबरको काम भइरहेको छ,’ लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गर्दै उनले भने, ‘सदरमुकाम र राजधानीले नदेखेको, स्थानीय सरकारले देखेको गाउँ हो यो । निर्माण सामग्री ल्याउन सडक बनायौँ । पानी तान्न बिजुलीबत्ती ल्याउँदै छौँ । अब असार मसान्तसम्म पानीको व्यवस्था गर्छाैँ ।’