सूर्य नेपाल एनपिजिए टुर सद्भाव र सञ्जय शीर्ष स्थानमा

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

एमेच्योर गल्फर सद्भाव आचार्य र प्रोफेसनल खेलाडी सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । दुवै खेलाडीले शीर्ष स्थानमा एक स्ट्रोकको अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्यसमेत रहेका सद्भावले ६ अन्डर ६६ स्कोरको कार्ड बनाए । सञ्जयले दुई अन्डर ७० स्कोर गरे । समग्रमा सद्भाव र सञ्जयले आठ अन्डर १३६ स्कोर गरेका छन् । तेस्रो स्थानमा रहेका साबिक विजेता सुवास तामाङ एक स्ट्रोकले पछि परेका छन् । 

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवासले दोस्रो दिन पाँच अन्डर ६७ स्कोर गरे । समग्रमा उनले सात अन्डर १३७ स्कोर गरेका छन् । नीरज तामाङ समग्रमा तीन अन्डर १४१ को स्कोरका साथ चौथो स्थानमा उक्लिए । रवि खड्काले समग्रमा दुई अन्डर १४२ को स्कोर गरे । समग्रमा दुई अन्डर १४२ स्कोर गरेका रवि पाँचौँ स्थानमा झरेका छन् । 

२९ गल्फरले कट बनाए
प्रतियोगिताको दोस्रो दिन ३६ होलको समाप्तिपछि १४ ओभर १५८ स्कोर गर्ने २१ प्रोफेसनल र आठ एमेच्योर खेलाडीले कट बनाएका छन् । प्रोफेसनलमा दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंकबहादुर कार्की, रामे मगर, धनबहादुर थापा र दीपक मगरले कट बनाए ।

सुरुवातमै उत्कृष्ट सद्भाव
सद्भावले सुरुवात सानदार गर्दै फ्रन्ट नाइन सात अन्डर २९ स्कोर गरे । उनले पहिलो होलमा बर्डी प्रहार गरे । त्यसपछि तेस्रोदेखि सातौँ होलसम्म लगातार पाँच बर्डी निकालेका सद्भावले नवौँ होलमा पनि एक सट बचाए । फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरेका सद्भाव ब्याक नाइनमा एक ओभर ३७ स्कोरमा सीमित भए ।

सञ्जयले फ्रन्ट र ब्याक नाइनमा समान एक अन्डर ३५ को स्कोर गरेका थिए । दोस्रो, चौथो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौँ होलमा समान एक सट खेर फाले । ब्याक नाइनमा सञ्जयले ११औँ र १२औँ‌ होलमा लगातार दुई इगल हात पारे । दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले फ्रन्ट नाइन चार अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौँ होलमा बर्डी प्रहार गरे । सुवासले १२औँ होलमा बर्डी निकाली ब्याक नाइन एक अन्डर ३५ को स्कोर गरे । 

सुझावित समाचार