काठमाडौं मापदण्डभन्दा २२ गुणा बढी प्रदूषित, सावधानी अपनाउन के-के गर्ने ?

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। 

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा राखेको हो। 

शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

वायु प्रदूषणहरू बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न सहरहरूमा परेको विज्ञहरूले बताएका छन्। 

जलवायु तथा विपतविज्ञ डा. धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित सहरमा पहिलो नम्बरमा परेको बताए। 

उनका अनुसार प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण हो। विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदूषण बढेको बताए। 

आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उनले बताए। उनका अनुसार अहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उल्लेख गरे। 

उनले भने, ‘विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो । एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म । सडकमा धुलो छ, कि त्यहाँ पानी छरौँ, कि कालोपत्रे गरौँ । सकिँदैन भने धुलो उडाउने काम बन्द गरौँ । प्रदूषण छ र अझै केही दिन रहिरहन्छ । एक–दुई दिनमा घट्छ, तर फेरि आउँछ । किनभने यसपटक हिउँदे वर्षा भएन, अब बर्खे वर्षा हुने हो, त्यो पनि औसतभन्दा कम हुँदै छ । प्रदूषण मात्रै होइन, गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जान्छ, पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदूषणको मात्रा झनै बढ्नेवाला छ । केही दिनका लागि धुवाँ निकाल्ने सवारीसाधन र मापदण्डबाहिरका सवारीसाधन छन्, ती सवारीसाधनहरूलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ । यसले ब्लडप्रेसर बढाउँछ, मुटुको समस्या हुने, हामीले दिनदिनै विष खाइरहेका छौँ, यसबारे सचेत हुनुपर्छ।’

जलवायु तथा विपतविज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आमनागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। उनले केही दिनको लागि धुवाँ निकाल्ने सवारीसाधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे। 

तस्बिर : संजित परियार/नयाँ पत्रिका 
 

सुझावित समाचार