अञ्जन श्रेष्ठको प्यानल घोषणा

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको २९ चैतमा हुन लागेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठले औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित घोषणासभामा आफ्नो समूहको वाचापत्र (घोषणापत्र) समेत सार्वजनिक गरेका छन् । 

अञ्जनको प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान उम्मेदवार रहेका छन् । एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य अञ्जन र उमेशलाल श्रेष्ठको सर्वसम्मत उम्मेदवार भएका छन् ।  घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनले वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनका लागि व्यवसाय विस्तार गर्न जरुरी रहेको भन्दै उनले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।

महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने अञ्जनले स्पष्ट पारे । ‘हाम्रो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता जाहेर गर्छौँ,’ उनले भने । 

अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए । यो प्यानलबाट वस्तुगत समूह तथा जिल्ला÷नगरतर्फका केन्द्रीय सदस्यका उम्मेदवारहरूले समेत आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरे । 

सुझावित समाचार