गुल्मीको इस्मामा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ । इस्मा गाउँपालिका– १ हस्तिचौरकी ८४ वर्षीया पवित्रा खत्रीको आगोमा जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
खत्री शनिबार आफ्नै घरमा आगो बालेर खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन् । प्रमुख जिल्ला अधिकारी पाठकका अनुसार खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा ज्यान गएको हो ।
दुई युवा घाइते
आगोमा जलेर कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङका दुई युवा पनि घाइते भएका छन् । नजिकैको वनमा लागेको आगो निभाउन पुगेका १८ वर्षीय नामु भारती र १६ वर्षीय सुमन भारती गम्भीर घाइते भएपछि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा सहजीकरणका लागि अस्पताल र पालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए।