रेल सञ्चालनमा आएपछि १० महिनामा १० करोड घाटा भएछ, यसलाई कसरी हेर्नुभएको छ ?
संसारभर यात्रुमात्र बोकेर कुनै पनि रेलवे नाफामा गएको छैन । भारतमै पनि अवस्था त्यस्तै छ । उनीहरूले त कार्गो ढुवानीबाट निकै राम्रो आम्दानी गर्छन् र पनि यात्रु रेल सञ्चालन गर्न नसकेर निजी क्षेत्रलाई दिने तयारी गरिरहेका छन् ।
हाम्रो रेलवेलाई नाफामा लान जनकपुरमा भएको रेलवेको १५ बिघाभन्दा बढी जमिनलाई व्यापारिक प्रयोजनमा लगाउनुपर्छ । रेलले यात्रु ओसार्छ । यात्रुले त्यो जग्गामा बनेको व्यापारिक कम्प्लेक्समा किनमेल गर्न पाए र त्यहाँ बनेका होटेलमा बास बस्न पाए भने यसबाट नाफा आर्जन हुन सक्छ । विशुद्ध यात्रु मात्र बोकेर रेलवे नाफामा जानै सक्दैन ।
रेल सञ्चालन गर्न सक्ने दक्ष स्वदेशी जनशक्ति तयार गर्न सकिन्न ?
नसकिने त होइन तर यसका लागि समय लाग्छ । सामान्य दुई–तीन महिने तालिम दिएर तल्लो तहमा रहेर काम गर्ने जनशक्ति तयार गर्न सकिन्छ । तर, पाइलटलगायत जनशक्ति तयार पार्न भने लामो समय लाग्छ । त्यसैले, अहिले हामी भारतीय जनशक्तिकै भर नपरी सुख छैन ।
नेपाली रेल सेवामा सुधार र विस्तार गर्न के गर्नुपर्छ ?
हाल सञ्चालनमा रहेको रेल रणनीतिक महत्वको होइन यसबाट सामान्य यात्रु ओसारपसारमा सहयोग पुग्छ । हाम्रा लागि क्रस बोर्डर रेलवे नै नभई हुँदैन । यसका लागि केरुङ–काठमाडौं र काठमाडौं–रक्सोल जोड्ने उत्तर–दक्षिण रेलवेको विकल्प छैन ।