जब भूकम्प आयो टर्कीको दक्षिणी सहर ओस्मानिया सहरका कैयाैँ अपार्टमेन्ट तासका घरजसरी ढले । छिनभरमै हजाराैँ मानिस भग्नावशेषमुनि पुरिए । स्थानीय च्याम्बर अफ आर्किटेक्चरकी प्रमुख हालिज सेन भग्नावशेषलाई हेर्छिन् र भन्छिन्, ‘त्यहाँ सबलीकरणका लागि चाहिने फलामे छड नै छैनन्, जसकारण कंक्रिटले आफ्नो शक्ति गुमायो र भुइँ हल्लिन थाल्नेबित्तिकै पिलर भाँचिएर भवन भुइँमा बज्रिए ।’
यहाँका कुनै पनि ब्लकमा बेसमेन्ट नभएको सेनका पति मुस्तफा बताउँछन् । जग कमजोर भएका भवन शक्तिशाली भूकम्पमा टिक्न सकेनन्, उनले थपे । अहिले जैतुन र ओखर खेतीमा लागेका मुस्तफाले निर्माण क्षेत्र छोडेको वर्षाैँ भयो । उनका अनुसार ठेकेदारहरूले लागत घटाउन भवनसंहितालाई बेवास्ता गरिरहे । ‘यदि हामी एउटा भवनमा १०० टन फलाम प्रयोग गथ्र्याैँ भने उनीहरू ९० टन प्रयोग गर्थे,’ उनले भने । ओस्मानिया सहर भूकम्पको सक्रिय फल्टलाइननजिकै छ ।
त्यो महाविपत्ति एउटा ७.८ र अर्काे ७.५ म्याग्निच्युडको गरी दुईवटा भूकम्पको रूपमा ६ फेब्रुअरीमा आयो । यी भूकम्प टर्कीको आधुनिक इतिहासमै सबैभन्दा घातकका रूपमा दर्ज भए । प्रभावित क्षेत्रको विस्तार टर्कीको भूमध्यसागरीय तटदेखि दक्षिणपूर्वी कुर्दिस क्षेत्रसम्म फैलिएको छ । भूकम्पले हजारौँ भवनलाई माटोमा मिलाएको छ, जसमध्ये केही त १०–१५ तलका थिए । टर्कीमा मात्रै ३० हजारभन्दा बढी मानिस हताहती भइसकेका छन् । सिरियामा पनि मृत्यु हुनेको संख्या चार हजारनजिक पुगेको छ ।
स्थानीय आपत्कालीन टोलीका साथमा दर्जनाैँ देशका ३० हजारभन्दा बढी उद्धारकर्मीले अहोरात्र जीवितहरूको खोजी जारी राखेका छन् । यसबीच, चमत्कार पनि भइरहेको छ । भूकम्प गएको ६ दिनभन्दा धेरै समय बितिसक्दासमेत भग्नावशेषबाट एकाध जीवितै उद्धार भइरहेका छन् । पछिल्लोपटक एउटा सानो बालकलाई जीवितै निकालिएको छ । जताततै अग्निशमनकर्ता, खानी र निर्माण क्षेत्रका कामदार देखिन्छन् । तिनले भग्नावशेष हटाउने साथै मद्दत, खाना र अत्यावश्यक सरसामान आपूर्तिका काम गरिरहेका छन् ।
विनाइजाजत वा भवनसंहिता उल्लंघन गरी बनाइएका भवनलाई जरिवाना तिरेर दर्ता गरिदिने ‘कन्स्ट्रक्सन एम्नेस्टी’ले पहिले नै खराब रहेको स्थितिलाई झन् खराब बनायो
तर, उद्धारको प्रयास सामूहिक चिहानको उत्खननजस्तो भइरहेको छ । अझै पनि भग्नावशेषमुनि दशाैँ हजार मानिस भएको अनुमान छ । पाँच लाखभन्दा केही बढीको आवादी रहेको कहरामान्मारास सहरमा भूकम्पपछि लागेको आगो (मानिसहरूले आफूलाई न्यानो राख्न बालेको आगोबाट सुरु भएको आगलागी)बाट निस्केको धुवाँले पूरै सहरलाई ढाकेको छ । यहाँभन्दा करिब सय किलोमिटर परको आदियामान सहरलाई पनि यस्तै धुवाँ र मृत्यु भएका मानिसका शवबाट फैलिएको दुर्गन्धले ढाकेको छ । उद्धार टोलीले आफ्ना पाँचजना आफन्तलाई भग्नावशेषबाट उत्खनन गरेर निकाल्दा एउटा कुर्दिस परिवार रुँदै थियो । एउटी महिला बेहोसै भइन् ।
यो क्षेत्रभर लाखौँ मानिस आपत्कालीन राहत सहयोग एजेन्सीले प्रदान गरेका टेन्ट सहर, मस्जिद, विद्यालय, पुस्तकालय वा निजी सवारीसाधनमा सुत्न बाध्य छन् । भूकम्पले खासै असर नगरेकाजस्ता देखिने घरहरूमा समेत निकै कमले मात्र पस्ने आँट गरेका छन् । केहीसँग जाने ठाउँ कतै छैन । अडियामानका मौलबी मेहमेत त्रिपालले ढाकेको ग्यारेजमा आफ्ना २० नातेदारका साथ सुत्छन् । उनको परिवारका ३० जनाभन्दा बढी सदस्यको मृत्यु भइसकेको छ ।
ढिलासुस्ती र गह्रौँ उपकरणको अभावले पीडा मात्रै थपिरहेको छ । आपत्कालीन टोलीहरूलाई अडियामानजस्ता सहरहरूमा पुग्नसमेत केही दिन लाग्यो । तबसम्म जीवितहरू आवाज नै निकाल्न नसक्ने अवस्थामा पुगिसकेका थिए, या त उनीहरूको आवाज कमजोर भइसकेको थियो । हिउँले ढाकेको पहाडमुनिको रमणीय गाउँ सकेबोरामा त्यहाँका बासिन्दाले आफैँले भग्नावशेष खनेर मृतक एवं घाइतेहरूलाई नजिकैको अस्पताल लगे । यहाँ कम्तीमा २०० जनाको मृत्यु भएको छ । ‘त्यहाँको पालभित्र एउटामाथि अर्काे शव खात लगाइएको थियो’, स्थानीय बिलाल सुतले बताए ।
ठूलो संख्यामा मृत्युको मुख्य कारण नै कमजोर भवन निर्माण मापदण्ड, भ्रष्टाचार र खराब नीति–निर्माण हुन सक्छन् । यी सबै टर्कीको आर्थिक मोडेलका हिस्सा हुन, जुन निर्माण र रेन्ट–सिकिङद्वारा सञ्चालि छ । यसको अधिकांश दोष टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दाेगानको सरकारलाई जाने तर्क गर्छन् विश्लेषकहरू । यसबाहेक, पूर्ववर्ती सरकारहरू, नगपालिकाका साथै ठेकेदार, डेभलपर्स र योजनाकारलाई पनि यसको दोष जान्छ । ‘यो विशुद्ध अपराध हो ।’ सहरी योजनाकार तथा प्राज्ञ मुरात गुभेन्सले भने । टर्कीमा सन् १९९९ मा इस्तानबुलको बाहिरी इलाकामा गएको भूकम्पमा परी १८ हजारभन्दा धेरै मानिसको मृत्यु भएपछि टर्कीले अपनाएको भवनसंहिता निकै कडा छ, जुन पाँच वर्षअघि मात्रै अद्यावधिक गरिएको थियो । इर्दाेगान सरकारले अघि सारेको सहरी नवीकरण योजनाअन्तर्गत ३० लाखभन्दा धेरै आवास एकाइ नवीकरण भएका छन् ।
समस्या कार्यान्वयन र निरीक्षण एवं अनुगमनमा छ । भवन निर्माण अनुमतिप्राप्त गर्न सजिलो छ र निरीक्षण एवं अनुगमन एकदमै कमजोर छ । सरकारबाट निरीक्षणको जिम्मेवारी पाएका कम्पनीहरूलाई भवन निर्माणकर्ताले नै भुक्तान गर्छन् ।
निरीक्षणकर्ताहरू जानेबित्तिकै ठेकेदार तथा निर्माणकर्ताहरूले फलामको गुणस्तर र परिणाम घटाउछन् । बिम र पिलरलाई दबाबका कारण नुहिनबाट रोक्ने फलामे सपोर्ट वा रिङमा कटौती गरिहाल्छन् । उनीहरूले स्वीकृतभन्दा बढी तलासमेत बनाउँछन् र स्थानीय अधिकारीहरूसँग लेनदेन गरेर कुरा मिलाउँछन् ।
यसको अर्थ जीवन र मृत्युका कारणबीच भिन्नता छ । अन्यत्रजस्तै ओस्मानियामा पनि भत्किएका अधिकांश भवन सन् १९९९ को भूकम्पअघि निर्मित छन् । तर, नयाँ मापदण्डअनुसार निर्मित थुप्रै भवन पनि भत्किएका वा मर्मत गर्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । ओस्मानियाको दक्षिणमा पर्ने अन्ताक्यामा एक दशकअघि मात्र निर्माण सम्पन्न भएको विलासी हाउजिङको भग्नावशेषमा सयौँ मानिस पुरिए । उक्त भवनका ठेकेदारलाई टर्की छोड्नै लागेको अवस्थामा दुई दिनअघि ११ फेब्रुअरीमा पक्राउ गरिएको छ ।
विनाइजाजत वा भवनसंहिता उल्लंघन गरी बनाइएका भवनहरूलाई जरिवाना तिरेर दर्ता गरिदिने ‘कन्स्ट्रक्सन एम्नेस्टी (निर्माण क्षमादान)’ले पहिले नै खराब रहेको परिस्थितिलाई अझ खराब बनायो । इर्दाेगान सरकारले यस्ता थुप्रै क्षमादान पास गरिसकेको छ । पछिल्लो क्षमादान आननिर्वाचनको पूर्वसन्ध्या सन् २०१८ मा दिइएको थियो । विपक्षीहरूले पनि यो कदमको समर्थन गरे, किनभने यो कार्यक्रम मतदातामाझ लोकप्रिय थियो । लाखौँ घर मालिकहरूले राज्यको ढुकुटीमा जरिवानाको पैसा तिरे सरकारले त्यसको राजनीतिक लाभ उठायो ।
सन् २०१८ को क्षमादानको एक वर्षपछि इर्दाेगान कारामान्मारासमा टप्किए र यो कार्यक्रमले एक लाख ४४ हजार सहरवासीका समस्या समाधान गरेको गर्वका साथ सुनाए । यो कार्यक्रमको जिम्मा पाएको निकायले मुलुकको आधाभन्दा धेरै हाउजिङ (भवन)ले भवनको मापदण्ड पूरा नगरेको खुलासा गरेको छ । ‘हेर्नुस्त नगरपालिकाबाट पास भएर वैध तरिकाले बनेका भवन त भत्किए भने अवैध रूपमा निर्मित भवन कसरी सलामत रहन सक्थे ?,’ छिमेकीका भवनको भग्नावशेषतर्फ देखाउँदै सेनले भनिन् । उनका श्रीमान् माथिबाट तलसम्मै सबैकुरा परिवर्तन गर्नुपर्छ भन्छन् ।
– द इकोनोमिस्ट