परीक्षाअघि बच्चालाई चाहिन्छ यस्तो वातावरण

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

अधिकांश अभिभावक बच्चालाई परीक्षामा राम्रो नम्बर ल्याउन दबाब दिन्छन् । तर, उनीहरूलाई तनाव दिएर मात्रै सोचेजस्तो नतिजा आउँदैन । बरु, उनीहरूका लागि राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । ताकि, उनीहरूलाई पढ्ने प्रेरणा मिलोस् । 

परीक्षाको तयारीका दौरान बच्चाले आफ्नो अधिकांश समय कोठामै बिताउँछन् । त्यसैले अभिभावकले उनीहरूको कोठालाई व्यवस्थित बनाउने विषयमा सोच्न जरुरी छ । प्राकृतिक प्रकाश तथा हावा मज्जाले आउने कोठामा बच्चालाई राख्नुपर्छ । कोठाका सामानहरू पनि व्यवस्थित हुनुपर्छ । बच्चाको कोठामा संगीत वा टिभी खुला हुनुहुँदैन । कोठामा ताजा फूल वा इनडोर प्लान्ट्स राख्न सकिन्छ । यसलाई हेरेर बच्चाले राम्रो महसुस गर्न सकून् । 

बच्चालाई दैनिक १५–२० मिनेट मनतातो पानीमा गोडा डुबाएर राख्न भन्नुस् । पानीमा नुन पनि मिलाउन सकिन्छ । यसो गर्दा उनीहरूको शरीर रिल्याक्स हुनेछ । तनाव कम भएर जानेछ । 

परीक्षाको समयमा बच्चाको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । उनीहरूलाई हल्का, राम्रोसँग पच्ने स्वास्थ्यवद्र्धक आहार दिनुपर्छ । भिटामिन सीयुक्त फल, मेवा, दही, डार्क चकलेटलगायत खुवाउनुपर्छ ।

समयमै डिनर खुवाउनुपर्छ । यदि बच्चालाई निद्रा राम्ररी आएको छैन भने उसलाई एक कप दूध खुवाउनुपर्छ । बच्चालाई समयमै उठ्न र समयमै सुत्न लगाउनुपर्छ । कोर्स कति वेला सक्ने र रिभिजन कहिले गर्ने भनेर स्पष्ट समयसीमा बनाउन लगाउनुपर्छ । 

हरेक विषयलाई छोटो–छोटो भागमा बाँडेर समयसीमा तय गर्नुपर्छ । पढ्ने योजना बनाउन र त्यस योजनामा अडिग रहनका लागि प्रेरित गर्नुपर्छ । 

सुझावित समाचार