अर्थतन्त्र सुधार गर्न गम्भीर छु : प्रधानमन्त्री

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागि गम्भीर भएर लागिपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुुधारको विषयलाई ‘लाइफ एन्ड डेथ’का रूपमा ठानेको बताए ।

उनले भने, ‘अबको अर्थतन्त्र सुधार मेरो सफलता वा असफलता होइन, सरकारको मात्रै सफलता वा असफलता पनि होइन । सिंगै नेपाली समाज र नेपाल राष्ट्रको सफलता र असफलताको बिन्दु यसमै जोडिएको छ ।’ प्रधानमन्त्री दाहालले अहिले मुलुकलाई अर्थविज्ञहरूको आवश्यकता महसुस भएको बताए । उनले भने, ‘अहिलेको अवस्थामा कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ र त्यसका लागि ज्ञान सीप र विकास नै अहिलेको आवश्यकता हो ।’

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कोभिड, रुस–युक्रेनबीचको युद्धले पारेको आर्थिक संकटपछि फेरि उठ्ने प्रयास भइरहेको बताए । उनले भने, ‘०७४ पछि लयमै रहेको अर्थतन्त्र र कोभिड–१९ राजनीतिक अस्थिरताको चपेटामा परे पनि अहिले पुनः सुधार देखिएको र त्यसलाई थप अर्धवार्षिक समीक्षामार्फत सुधार गरेर जानुपर्छ ।’ त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारको सम्बन्धमा राष्ट्र बैंक नकारात्मक नभएको बताए । उनले भने, ‘पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा बढी छ, त्यसलाई नियमन गर्ने क्रममा केही प्रभाव परे तापनि दीर्घकालीन रहँदैन ।’

योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले महत्वाकांंक्षी योजनाहरू ल्याई त्यससँग सम्बन्धित ऐन–नियम ल्याउँदै कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘साना योजना मात्र नभई, ठूला र दीर्घकालीन योजना ल्याउने र त्यसलाई कार्यान्वयन गर्नका के–कस्ता ऐन र नियम बनाउनुपर्छ वा शंशोधन गर्नुपर्छ गरौँ ।’ त्यस्तै, अर्थशास्त्री अच्युत वाग्लेले आगामी अर्थतन्त्र सुधारका लागि कृषिलाई सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘अन्यमा गर्ने लगानी कृषिमा गरौँ अहिले कृषिमा गरेको लगानीले केही वर्षपछि हाम्रो अर्बौँ रुपैयाँको बचत गराउँछ, त्यसैले अहिलेको लगानी आवश्यकता भनेको शिक्षा र कृषि हो, त्यसमा जोड गरौँ ।’

 ६ आर्थिक पत्रकार पुरस्कृत
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सेजन अवार्ड’ कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका छन् । सेजन अवार्ड पाउनेमा अन्नपूर्ण पोस्टका ममता थापा र सुरेन्द्र काफ्ले रहेका छन् । त्यस्तै, ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोरके टिभीका विनय बन्जाराले पाएका छन् । डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका कृष्ण आचार्यलाई दिइएको छ ।

सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) र छापातर्फ टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीले अवार्ड पाएका छन् । सञ्जय न्यौपाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौशिला कुँवरलाई प्रदान गरिएको छ ।

सुझावित समाचार